ईक्यानको नयाँ अध्यक्षका लागि पौडेल र भुसाल भिड्ने, १८ पदका लागि ३४ जनाको उम्मेदवारी

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को नयाँ नेतृत्वका लागि दौडधुप सुरु भएको छ । यही पुस २८ गते हुने २०औँ साधारणसभा तथा महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने भएपछि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेको हो ।

ईक्यानका अनुसार अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । हालका प्रथम उपाध्यक्ष एन्ड्र्यु पौडेल (लक्ष्मण) र महासचिव दीपकराज भुसाल अध्यक्ष पदका प्रत्याशी बनेका हुन् । यसअघि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी गीता शिवाकोटी (गीताञ्जली) पछि हटेपछि अध्यक्ष पदमा दुई जनाबीच प्रतिस्पर्धा हुने भएको हो ।

यस्तै, छ उपाध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्ष पदका उम्मेदवारमा रत्नबहादुर भट्टराई, विकल्पराज पाख्रेल, फिलिपकुमार डाँगी क्षेत्री, मञ्जित ढकाल, पुष्पराज भट्टराई, बासुदेव दाहल र गीता शिवाकोटी (गीताञ्जली) रहेका छन् ।

महासचिव पदका लागि भवननाथ हुमागाईं र नवराज केसी खत्रीको उम्मेदवारी परेको छ भने दुई सचिव पदका लागि चार जनाले उम्मेदवारी दिएका छन् । सचिव पदका उम्मेदवारमा लालबहादुर तामाङ, भूपाल केसी, आशिष कार्की र सुरज सिलवाल छन् ।

कोषाध्यक्ष पदका लागि उमा खड्का पाठक र साधना पुडासैनी उम्मेदवार बनेका छन् भने सह–कोषाध्यक्ष पदका लागि भीमबहादुर थापा र गोविन्द खनालले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, नौ सदस्य पदका लागि १४ जनाको उम्मेदवारी परेको छ । सदस्य पदका उम्मेदवारमा अशोककुमार हाथी, प्रकाश रिजाल, अनन्तराज घिमिरे, विवेक बस्नेत, दामोदर शर्मा, सञ्जीव पाण्डे, नवराज नेपाल, उद्धव वन, कमलप्रसाद तिमल्सिना, बसन्त पाण्डे, प्रभात पौडेल, भेषराज राय, दिनेश पौडेल र शिवप्रसाद अर्याल रहेका छन् ।

पुस २८ गते हुने साधारणसभा तथा महाधिवेशनबाट अध्यक्षसहित १८ पदका लागि ३४ जनाको उम्मेदवारी परेको ईक्यानले जनाएको  छ।

अध्यक्षका उम्मेदवार एन्ड्र्यु पौडेलले ईक्यानलाई थप व्यावसायिक, पारदर्शी र सदस्यकेन्द्रित संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले शैक्षिक परामर्श व्यवसायमा देखिएका नीतिगत चुनौती समाधान, सरकारी निकायसँग प्रभावकारी संवाद तथा सदस्यहरूको हकहित संरक्षणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् ।

निर्वाचनका लागि दुवै पक्षले तयारी तीव्र पारेका छन् । भुसाल प्यानलतर्फ उपाध्यक्ष पदका उम्मेदवारमा फिलिप डीसी, मञ्जित ढकाल, विकल्पराज पाख्रेल र रत्न भट्टराई रहेका छन् । भुसाललाई पूर्वअध्यक्ष प्रकाश पाण्डे र वर्तमान अध्यक्ष शेषराज भट्टराईको समर्थन रहेको छ । भुसालका प्रस्तावक स्वयं पाण्डे र समर्थक भट्टराई रहेका छन् ।  

Share News