डडेल्धुरा अस्पतालका अध्यक्ष ओझामाथि कालो मोसो प्रहार, कारवाहीको माग गर्दै कर्मचारी आन्दोलित

काठमाडौं । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि कार्यकक्षमै कालो मोसो प्रहार भएको छ । 

बुधबार (आज) दिउँसो कार्यकक्षमै रहेका बेला आएका अज्ञात व्यक्तिले कालोमोसो दलेका थिए । नचिनेका केही व्यक्ति कार्यकक्षमा आएर ने.क.पा. बहुमतको सदस्य रहेको बताउँदै उनीमाथि कालो मोसो दलेको बताइएको छ।

ओझामाथि कालोमोसो दलिएको फोटो बुधबार सामाजिक सञ्जाल भाइरल भएको छ । जहाँ कालोमोसो दल्नेहरूले नेकपा बहुमत जिन्दावाद, भ्रष्टाचारी होसियार भन्दै कालो मोसो प्रहार गरिएको देखिएको छ । 

कालोमोसो दल्नेहरू हतारहतार जंगलतिर भागेका थिए । कार्यकक्षमा प्रवेश गर्दा सामान्य व्यवहार देखाए पनि एक्कासि मोसो प्रहार गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्षमाथि मोसो प्रहार गरिएकोमा अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले दुर्व्यवहार गर्ने विरुद्ध कानुनी कारवाहीको माग गर्दै आन्दोलन सुरु गरेका छन् ।  

उनीहरूले दुर्व्यवहार गर्ने माथि कारवाही नहुँदासम्म आकस्मिक बाहेकका सेवा नदिने बताउँदै बिरामीप्रति पर्ने असुविधाप्रति माफी मागेका छन् ।

‘यस क्षेत्रको समग्र स्वास्थ्य प्रणाली र अस्पतालबाट प्रवाह हुने सेवा सुविधामा अहोरात्र दिनरात नभनी अग्रपङ्क्तिमा खटेर बिरामी सेवाग्राही नागरिकहरूको सहज र प्रभावकारी उपचार पद्धति व्यवस्थापनमा सर सल्लाह र सामुदायिक अपनत्व लिने वातावरण सिर्जना गर्न कियाशिल रहनुभएका विकास समिति अध्यक्ष माथि यस संवेदनशील संस्थाभित्र प्रवेश गरि प्रमाणविहीन र तथ्यहीन आरोपहरू लगाउँदै अस्पताल जस्तो गरिमामय पवित्रस्थलमा गरिएको व्यवहारले लज्जित तुल्याएको छ, अस्पतालले निकालेको विज्ञप्तिमा भनिएको छ ।

कर्मचारीले यस्ता घटनाले अस्पतालको सेवा प्रवाह तथा अस्पतालमा कार्यरत सबै तहका कर्मचारीहरू र पदाधिकारीहरूको मनोबलमा गिराउने काम भएको बताएका छन् । 

घटनाको दोषीमाथि छानबिन गरी कानुन बमोजिम कारवाही गर्न माग गर्दै कर्मचारीले भविष्यमा यस्ता अराजक गतिविधिहरू हुन नदिन स्थानीय प्रशासन र सुरक्षा निकायलाई आग्रह गरेका छन् 

Share News