रास्वपाले प्रत्यक्षका उम्मेदवार छनोट पनि प्रि–प्राइमरी इलेक्सनबाटै गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार छनोट यसअघि समानुपातिकमा प्रयोग गरिएको प्रि–प्राइमरी इलेक्सनबाटै गर्ने भएको छ । उक्त मोडालिटीमा कस्ता टुल्स प्रयोग गर्ने मापदण्ड कस्तो बनाउने भन्ने विषयमा छलफल भइरहेको पार्टीले जनाएको छ । 

मोडालिटीका बारेमा पार्टीमा कुनै अन्योल नभएपनि मापदण्ड र त्यसले बोक्ने भारका विषयमा भने पार्टी नेतृत्व अझै स्पष्ट भइसकेको छैन ।

पार्टीले पहिले नै प्रयोग गरेको मोडालिटीमै उम्मेदवारीका लागि दरखास्त आह्वान गरिसकेको पार्टीका सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । मंगलबार राति बसेको सचिवालय बैठकपछि सार्वजनिक गरिएको सूचनामा उम्मेदवारी दिने अन्तिम समय पुस २६ गते राति १२ बजेसम्म तोकिएको छ । 

सहप्रवक्ता रावलका अनुसार प्रत्येक निर्वाचन क्षेत्रका पार्टी क्याडरहरूले आफ्नो निर्वाचन क्षेत्रका आकांक्षीहरूलाई मतदान गर्न पाउनेछन् । सोही मतदानबाट पहिलो हुने नेता नै आगामी निर्वाचनमा पार्टीको तर्फबाट उमेदवार बन्नेछन् । रावलले भनिन्, ‘पहिलो मत प्राप्त गर्नु एउटा मापदण्ड पुरा गर्नु हो । अन्य मापदण्डको सवालमा हामी छलफलमै छौं ।’

यसअघि रास्वपाले उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गरिसकेको छ । सामान्यतया प्राइमरी इलेक्सन हुने अवस्थामा सिफारिस उपसमिति आवश्यक नपर्ने भएकाले यसपटक प्रत्यक्षतर्फ प्राइमरी इलेक्सन नहुने आशंका रहेको छ नि भन्ने जिज्ञासामा रावलले भनिन्, ‘हामी जनमतको पूर्वपरीक्षणबाट पछि हट्दैनौं । पहिले पार्टी भित्र लोकप्रियता मापन अनि बल्ल जनतासँग जाने हो । योभन्दा सुन्दर छनोट प्रक्रिया अरु हुँदैन ।’

रास्वपाले समानुपातिकतर्फ प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छनोट गरेको थियो । रास्वपाले उक्त विधि अपनाए पनि सो प्रक्रिया विवादरहित भने रहन सकेन । उक्त मोडालिटीमा प्राइमरी इलेक्सनलाई ५० प्रतिशत मात्रै मतभार दिइएको थियो भने बाँकी ५० प्रतिशतका लागि जटिल मापदण्डहरू तय गरिएको थियो । यही विधि प्रत्यक्ष निर्वाचनमा लागू गर्न व्यवहारिक नभएकोले विधिमा रिभ्यु आवश्यक रहेको अर्का सहप्रवक्ता रमेश प्रसाईंले जानकारी दिए ।

प्रसाईंले भने, ‘यसअघि हामीले पूर्ण डिजिटल विधि प्रयोग गर्यौं । अब स्थान विशेषमा फिजिकल विधिपनि गर्नुपर्ने देखिएको छ ।’

पछिल्लो समय पार्टीमा अन्य समूह र नेतासमेत समाहित भएकोले उहाँहरूलाई समेट्न विधिमा परिमार्जन आवश्यक रहेकोले त्यसमा छलफल भइरहेको सहप्रवक्ता प्रसाईंले जानकारी दिए ।

हाल बालेन समूह, उज्यालो नेपाल पार्टी, थारुवान समूहलगायत रास्वपामा समाहित भइसकेकाले उम्मेदवार छनोट सहमतिका आधारमा गर्नुपर्ने दबाब बढेकोले विधिमा परिमार्जन गर्नुपर्ने देखिएको प्रसाईंले बताए ।

प्रसाईंका अनुसार एकीकरणपछि पार्टीको तलदेखि माथिसम्मको संरचना बदलिएको छ । नेता र नेतृत्व हिजोको जस्तो छैन । त्यसैले उम्मेदवार छनोटको आधारसमेत परिवर्तन गर्नुपर्ने अवस्था आएको छ ।

सहप्रवक्ता रावलका अनुसार हिजो मापदण्ड र विधि बनाएको टिममात्रै रास्वपामा छैन । तर छनोटको प्रक्रियामा त्यही हुनुपर्छ । अर्का सहप्रवक्ता प्रसाईं अरू दलभन्दा फरक देखिने यो छनोट प्रक्रियालाई निरन्तरता दिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘प्रि–प्राइमरीबाट पछि हट्ने कुरा हुँदैन तर मापदण्डमा फेरबदल गर्न सकिन्छ ।’

तर भर्खरै समायोजन भएका दल र समूहका नेताहरूमा भने उक्त छनोट विधिले आफूहरूलाई समेट्न नसक्ने आशंका छ । यो आशंका मेट्नेगरी मापदण्ड बनाउन बहस आवश्यक रहेको रावलको कथन छ ।

Share News