आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सको ५ प्रतिशत नगद लाभांश स्वीकृत

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभामा अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायतले सेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको वार्षिक प्रगति, भविष्यका योजना र आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

सभामा चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सेयरधनीहरूले सर्वसम्मति मार्फत स्वीकृत गरेका छन् । साथै, कम्पनीको पानीपोखरी स्थित ११ तल्ले नयाँ भवन सञ्चालनमा आउँदैछ, जसमा प्रधान कार्यालय स्थानान्तरण हुनेछ र अन्य तल्ला भाडामा उपलब्ध गराइनेछ ।

सभामा अध्यक्ष ढकालले जानकारी दिए कि समीक्षा वर्षमा कम्पनीले देशका सातै प्रदेशमा रहेका ९० शाखा, ५३१ कर्मचारी, ४३० अभिकर्ता र १९२ सर्भेयर मार्फत सेवा प्रदान गर्दै आएको छ । बीमा प्रिमियम संकलन रु. ३८६ करोड ५९ लाख पुगेको छ भने दावी भुक्तानी रु. २ अर्ब ४६ करोड ३३ लाख पुगेको छ ।

कम्पनीले स्वास्थ्य बीमा योजनामा नवीन सेवा, विदेशी पर्वतारोहण तथा ट्रेकिङ्गमा बीमाको सुरुवात जस्ता डिजिटल र ग्राहकमैत्री पहलहरू अघि बढाएको जानकारी सभामा दिइयो ।

अध्यक्ष ढकालले सेयरधनीहरूको समर्थन र सरकार तथा नियामक निकायहरूको सहयोगप्रति आभार व्यक्त गर्दै कम्पनीले भविष्यमा पनि बीमा बजारमा विश्वसनीयता, पारदर्शिता र गुणस्तरीय सेवा कायम राख्ने प्रतिबद्धता व्यक्त गरे ।

Share News