काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा बिहीबार काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचिसहितको वित्तीय विवरण पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ ।
सभाले सञ्चालक समितिको प्रस्तावअनुसार आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट कम्पनीको तत्काल कायम चुक्ता पूँजीको १०.५२६३२ प्रतिशतका दरले ५२ करोड ६३ लाख १५ हजार ७ सय ८९ रुपैयाँ नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
विशेष प्रस्तावअन्तर्गत कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा अभिलेख गर्ने निकायबाट कुनै संशोधनका लागि निर्देशन प्राप्त भएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट गरिएको खर्चसमेत अनुमोदन गरेको छ ।
सभामा अध्यक्ष डा. अर्यालले कम्पनीको उन्नति र प्रगतिमा निरन्तर सुझाव र सहयोग गर्ने सेयरधनी, सञ्चालक, बीमित, नियमनकारी निकाय, पुनर्बीमा कम्पनी, कर्मचारी, अभिकर्ता, बैंक तथा वित्तीय संस्था तथा अन्य सम्पूर्ण शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरे ।