काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्ला वर्षहरूको सवारी दुर्घटनाको तथ्यांक विश्लेषण गर्दै उपत्यकाका २९ वटा मुख्य ठाउँहरूलाई ब्ल्याक स्पट (अत्यधिक दुर्घटना हुने क्षेत्र) को रूपमा पहिचान गरेको छ।
ती ठाउँहरूमा हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ‘ट्राफिक सप्ताह-२०८२’ को सुरुवात गर्दै विशेष सुरक्षा योजना र सुधारका कार्यक्रमहरू अघि सारेको छ ।
ट्राफिक प्रहरीका अनुसार कोटेश्वर, कलंकी, सातदोबाटो, र जडिबुटी जस्ता व्यस्त चोकहरू दुर्घटनाको उच्च जोखिममा छन् । तथ्यांकअनुसार एकै आर्थिक वर्षमा कोटेश्वर-जडिबुटी क्षेत्रमा ३१ वटा दुर्घटना भएका छन् भने बौद्ध गेट-लामा पम्पमा २९ वटा दुर्घटना भएका छन् ।
यस्तै, कोटेश्वर-बालकुमारीमा २९ वटा दुर्घटना, मनिभैरव-बानेश्वरमा २६ वटा दुर्घटना, एकान्तकुना-नख्खुमा २४ वटा दुर्घटना गठ्ठाघर-लोकन्थली र चारदोबाटोमा कुल ४५ वटा दुर्घटना भएका छन् । यसबाहेक महाराजगञ्ज, नयाँ बसपार्क, बल्खु, गौशाला, स्वयम्भू, सानेपा, सिंहदरबार र भक्तपुरका विभिन्न खण्डहरूलाई पनि जोखिमपूर्ण सूचीमा राखिएको छ ।
बढ्दो दुर्घटनालाई मध्यनजर गर्दै शुक्रबारदेखि ‘ट्राफिक सप्ताह-२०८२’ सुरु भएको छ । आगामी माघ २ गतेसम्म सञ्चालन हुने यो अभियानको मुख्य उद्देश्य नै यी ‘ब्ल्याक स्पट’हरूको प्राविधिक कमजोरी पहिचान गरी सुधार गर्नु र जनचेतना फैलाउनु रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
दुर्घटना न्यूनीकरणका लागि एसएसपी नवराज अधिकारीका अनुसार पहिचान भएका जोखिमपूर्ण ठाउँहरूको सडक संरचना र ट्राफिक संकेतहरूको अध्ययन गरी सुधार गरिनेछ । यस्तै, लामो तथा मध्यम दूरीका रात्रि बसहरूमा अनिवार्य रूपमा १ मिनेटको दुर्घटना न्यूनीकरण सम्बन्धी भिडियो देखाइनेछ । पठाओ, इनड्राइभर जस्ता राइड सेयर एपका चालकहरूलाई विशेष सचेतना तालिम दिइने जनाइएको छ ।
सार्वजनिक सवारी साधनहरूमा जीपीएस र सीसीक्यामेरा जडान गर्न आवश्यक समन्वय गरिने समेत बताइएको छ । पहिचान गरिएका ‘ब्ल्याक स्पट’ हरूमा सवारी चलाउँदा विशेष ध्यान दिन र ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहरीले चालकहरूलाई आग्रह गरेको छ । ‘मानवीय र भौतिक क्षति कम गर्न सडक प्रयोगकर्ताको सचेतना नै सबैभन्दा ठूलो हतियार हो,’ एसएसपी अधिकारीले भने ।