काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (बोनस सेयरको कर प्रयोजनको लागि) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३५ करोड ९७ लाख ८३ हजार ८ सय ५६ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आव २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाबलगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।
चालु आवको असोज मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालय मार्फत २ लाख ६१ हजार ७ सय ४५ महिला ग्राहक सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम २१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ पुगेको छ भने सदस्यको बचत यस अवधिसम्ममा १४ अर्ब ३९ करोड १९ लाख रुपैयाँ रहेको छ ।
राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रूपमा कारोबार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न ग्रामीण तथा सहरी क्षेत्रमा सर्वसुलभ, गुणस्तरिय र ग्राहकमुखी सेवा विस्तारको योजना साथ अगाडि बढेको संस्थाको जारी तथा चुक्ता पूँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ कायम गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।
साधारण सभाले संस्थाको सञ्चालक समितिमा रिक्त हुने सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकमा रविनकुमार श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ।
साथै, आव २०८१/८२ को लेखापरीक्षण गर्नको लागि सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य इजाजतपत्र प्राप्त ‘घ’ वर्गका एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरूलाई मर्जर/प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन संचालक समितिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्ताव समेत पारित गरेको छ ।