नेपाली कांग्रेस काठमाडौंका अधिकांश क्षेत्र नियमित महाधिवेशनको पक्षमा

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका विभिन्न क्षेत्रीय समितिहरूले पार्टीको नियमित महाधिवेशनमै जानुपर्ने स्पष्ट धारणा सार्वजनिक गरेका छन् । उनीहरूले विशेष महाधिवेशनको प्रस्ताव पार्टी हितविपरीत हुने निष्कर्ष निकालेका छन् ।

काठमाडौंका विभिन्न क्षेत्रका सभापतिहरूले प्रेस विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको विपक्षमा आफ्नो मत सार्वजनिक गरेका हुन् ।

काठमाडौं महानगर समिति तथा क्षेत्र नम्बर २, ५, ६, ७, ८, ९ र १० का सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको पक्षमा आफूहरू दृढ रहेको जनाएका हुन् । विज्ञप्तिमा आगामी वैशाखमा पार्टीको १५औं महाधिवेशनको कार्यतालिका आइसकेको अवस्थामा विशेष महाधिवेशनको आवश्यकता नरहेको उल्लेख छ ।

उनीहरूले पार्टी विधान, संगठनात्मक स्थिरता र आन्तरिक एकतालाई ध्यानमा राख्दै तोकिएकै समयमा नियमित महाधिवेशन सम्पन्न गर्नु नै उपयुक्त हुने धारणा व्यक्त गरेका छन् । विशेष महाधिवेशनले पार्टीभित्र थप अन्योल, विभाजन र अनावश्यक विवाद सिर्जना गर्ने खतरा रहेको उनीहरूको ठहर छ ।

विज्ञप्तिमा पार्टी नेतृत्व, केन्द्रीय समिति तथा सम्पूर्ण कार्यकर्तालाई संयमित भएर विधानसम्मत प्रक्रियाबाट अघि बढ्न आग्रह गरिएको छ । नियमित महाधिवेशनमार्फत पार्टीलाई थप सुदृढ, एकीकृत र जनविश्वासयोग्य बनाउनु आजको आवश्यकता हो, विज्ञप्तिमा उल्लेख छ ।

तर, यस विषयमा काठमाडौं जिल्ला समितिको धारणा भने फरक देखिएको छ । जिल्ला समिति विशेष महाधिवेशनको पक्षमा खुलेको छ, जसले काठमाडौं कांग्रेसभित्र महाधिवेशनको विषयमा मतभिन्नता सतहमा आएको संकेत गरेको छ ।

null

Share News