काठमाडौं । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । राजधानीको भृकुटीमण्डपमा आइतबार बिहानैदेखि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ ।
प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया शुरु भइसकेको छ भने स्टलहरूमा लाइन लागेर दर्ता गराउनेको भीड देखिएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आयोजना हुन लागेको यो विशेष महाधिवेशनमा करिव ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने आयोजकहरूको दाबी छ । पार्टी विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षर संकलन गरेर यो महाधिवेशन आह्वान गरिएको हो ।
दर्ता शुल्क प्रतिव्यक्ति एक हजार रुपैयाँ तोकिएको छ । महाधिवेशनको उद्घाटन सत्र दिउँसो १ बजे हुनेछ । उद्घाटनअघि काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट र्याली तथा जुलुस निकालेर भृकुटीमण्डपमा भेला भइरहेका छन् ।
यद्यपि, पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले यो महाधिवेशनलाई मान्यता दिन अस्वीकार गरेको छ । संस्थापन पक्षको भनाइ छ, नियमित १५ औँ महाधिवेशनको मिति तोकिसकेकाले विशेष महाधिवेशनको औचित्य सकिएको छ ।
महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन, नीति पुनरवलोकन र संरचनात्मक सुधारजस्ता एजेन्डा मुख्य रहने अपेक्षा गरिएको छ । भृकुटीमण्डपमा कार्यकर्ताहरूको उत्साह र चहलपहलले महाधिवेशनको माहोल तातेको छ ।