डा. ज्ञानेन्द्रमानसिंह कार्कीको ओपनहार्ट सर्जरी सफल

काठमाडौं । विराट नर्सिङहोम र विराट मेडिकल कलेजका सञ्चालक एवं डा. ज्ञानेन्द्रमानसिंह कार्कीको ओपनहार्ट सर्जरी सफल भएको छ । नियमित जाँचका क्रममा दिल्लीस्थित मेदान्त अस्पताल पुगेका कार्कीको मुटुको भल्ब बन्द भएको पाइएपछि ओपनहार्ट सर्जरी गरिएको हो। 

एक साताअघि स्वास्थ्य समस्या देखिएपछि भारत पुगेका डा. कार्कीले अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

उनले अस्पतालको बेडबाट भिडियो सेयर गर्दै भनेका छन्, ‘म अहिले स्वास्थ्यलाभ गरिरहेको छु, कसैलाई कुनै सन्देश नै दिन नपाइ दिल्ली आउनुपर्यो, हजुरहरूको कृपाले राम्रो हुँदैछ ।’ 

कार्कीले मुटुको भल्भको ब्लकेज जटिल शल्यक्रिया रहेको जनाउँदै अहिले आफ्नो अवस्था ठीक रहेको बताए । उनले अब आफू ठीक भएर चाँडै नागरिकको सेवाका लागि फर्किने समेत विश्वास दिलाएका छन् ।

ओपनहार्ट सर्जरी एक जटिल शल्यक्रिया हो, जसमा छाती खोलेर मुटुको उपचार वा शल्यक्रिया गरिन्छ । यो शल्यक्रिया कोरोनरी धमनी रोग, मुटुको भल्भ रोग, जन्मजात मुटुको दोष र अन्य गम्भीर मुटुसँग सम्बन्धित समस्याहरूका लागि गर्ने गरिन्छ । 

यसको लक्ष्य भनेको मुटुको सामान्य कार्य पुन: स्थापित गर्नु, रक्त प्रवाह सुधार गर्नु र मुटुको रोगबाट पीडित बिरामीहरूको जीवनको समग्र गुणस्तर बढाउनु हो ।  

Share News