ग्राहकलाई प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) तथा इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकले जारी गरेको सूचनामा ग्राहकको खाताबाट काटिएको कर विवरण आयकर ऐन, २०५८ अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक अनिवार्य रहेको उल्लेख गरिएको छ ।

ग्राहकले बैंकको पोर्टल panupdate.nicasiabank.com तथा मोबाइल बैंकिङ अनुप्रयोग (एनआईसी एसिया मोबाइल बैंक) मा रहेको ‘प्यान अद्यावधिक’ विकल्प प्रयोग गरी आफ्नो प्यान सहजै अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ । साथै, नजिकको कुनै पनि एनआईसी एसिया बैंकको शाखा कार्यालयमा गई आवेदन दिएर पनि प्यान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको  छ।

बैंकका अनुसार ब्याज भुक्तानीमा काटिएको कर विवरण विद्युतीय कर कट्टी विवरण प्रणाली (ई–टीडीएस) मा समावेश गर्न प्यान अत्यावश्यक हुन्छ। प्यान अद्यावधिक भएपछि कर विवरण स्वचालित रूपमा सम्बन्धित प्यानमा प्रविष्ट हुने र यसले कर कट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकको विश्वास छ ।

प्यान अद्यावधिक नगरिएकै कारण ई–टीडीएसमा ब्याज कर दाखिला नभएमा वा पछि कर समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने स्पष्ट पारिएको छ ।

यसैगरी बैंकले ग्राहकलाई खातामा इमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकले बैंकको भिडियो ग्राहक पहिचान (भिडियो केवाईसी) सेवा, मोबाइल बैंकिङ अनुप्रयोगको ‘मेरो प्रोफाइल’ खण्डमार्फत ‘इमेल परिवर्तन’ विकल्प प्रयोग गरी इमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन् । शाखा कार्यालयमार्फत पनि इमेल ठेगाना अद्यावधिकको सुविधा उपलब्ध रहेको बैंकले जनाएको छ ।

यसअघि प्यान उपलब्ध गराए पनि कर विवरण अद्यावधिक नभएको वा इमेल ठेगाना परिवर्तन गर्न बाँकी रहेको अवस्थामा नजिकको शाखा कार्यालय वा ग्राहक सेवा केन्द्रका फोन नम्बर १६६०–०१–७७७७ र ०१–४७८९८९८ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

Share News