नाइमा र ट्राफिक प्रहरीबीच पाँच वर्षे तालिम समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच ट्राफिक प्रहरीलाई व्यवहारकुशल सीप (सफ्ट स्किल्स) तथा नयाँ सवारी प्रविधिसम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने सम्बन्धमा पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौं उपत्यकाभर कार्यरत करिब १८ हजार ५ सय ट्राफिक प्रहरीलाई लक्षित गरी गरिएको उक्त समझदारी ट्राफिक सप्ताह–२०८२ अन्तर्गत ‘सडक दुर्घटना न्यूनीकरण विशेष अभियान’ को अवसरमा हस्ताक्षर गरिएको हो । समझदारीपत्रमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र नाइमाका बोर्ड सदस्य सौरभ ज्योतिले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार नाइमाले आफ्ना सदस्य कम्पनीहरूको विज्ञता प्रयोग गरी नयाँ सवारी प्रविधि, सडक सुरक्षा, नविन प्रविधिको प्रयोग तथा सवारी–यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयमा आवश्यक तालिम सामग्री, स्रोतसाधन, विज्ञ सहजीकरण तथा समन्वय उपलब्ध गराउनेछ । त्यस्तै, ट्राफिक प्रहरी कार्यालयले तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चित गर्नेछ ।

समझदारी कार्यान्वयनअन्तर्गत पहिलो चरणको तालिम माघ ४ गतेदेखि सुरु हुने र १६ कार्यदिनसम्म सञ्चालन हुने जनाइएको छ । प्रत्येक चरणमा १०० जना ट्राफिक प्रहरी सहभागी हुनेछन् । तालिममा तनाव व्यवस्थापन, सञ्चार तथा द्वन्द्व व्यवस्थापन, नयाँ सवारी साधन प्रविधिको सैद्धान्तिक र व्यावहारिक ज्ञान, ट्राफिक व्यवस्थापन अभ्यास, सडक दुर्घटना न्यूनीकरण तथा आवश्यक ह्यान्ड–जेस्चर सीपसम्बन्धी विषय समेटिनेछ ।

तालिम सहजीकरणका लागि इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) पुल्चोक र थापाथली क्याम्पसका प्राध्यापक, जीवन विज्ञानका प्रशिक्षक, नाइमाका सदस्य कम्पनीका प्राविधिक विज्ञ, प्रेरणादायी वक्ता तथा आवश्यकताअनुसार स्वतन्त्र विज्ञहरूको सहभागिता रहनेछ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीले नयाँ सवारी प्रविधि र जनसम्पर्क–केन्द्रित सेवाका विषयमा ट्राफिक प्रहरीलाई निरन्तर तालिम आवश्यक रहेको बता ए। उनले दीर्घकालीन साझेदारीमा नाइमाको निरन्तर प्रतिबद्धता प्रशंसनीय रहेको उल्लेख गरे ।

नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले ‘Empowering Growth through Mobility’ भन्ने संस्थाको दृष्टिकोणअनुसार सडक सुरक्षा प्रवर्द्धन, उपभोक्ता शिक्षा, दक्ष मानव स्रोत विकास र नीतिगत पैरवीमा नाइमा निरन्तर सक्रिय रहेको बताइन् । यस सहकार्यले ट्राफिक प्रहरीको क्षमता विकासमार्फत नागरिकमैत्री सेवा प्रवाह र सडक सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

Share News