ईभी पूर्वाधारमा अब्बल टाटा मोटर्स : लाइफटाइम निःशुल्क चार्जिङदेखि ब्याट्री डाइग्नोस्टिक सेवा

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रवर्द्धन र ग्राहक सुविधालाई ध्यानमा राख्दै सिप्रदी ट्रेडिङ प्रालिले आफ्ना ग्राहकहरूका लागि विभिन्न सुविधाहरू दिँदै आएको छ । 

गाडी खरिद गर्ने ग्राहकहरूलाई लाइफटाइम निःशुल्क चार्जिङ सुविधा प्रदान गरिरहेको छ, जुन गाडीको वारेन्टी अवधिभर लागू हुने कम्पनीले जनाएकाे छ । यसका साथै सिप्रदीले नेपालमै पहिलो पटक अत्याधुनिक ब्याट्री डाइग्नोस्टिक र मर्मत सेवा पनि विस्तार गरेको छ ।  

सिप्रदीले आयोजना गर्ने विभिन्न एक्सचेन्ज क्याम्पहरू, नाडा अटो शोजस्ता विशेष कार्यक्रमहरू वा अन्य अफरहरूका बेला ईभी खरिद गर्ने ग्राहकहरूले यो लाइफटाइम फ्री चार्जिङ सुविधाको लाभ उठाउन सक्छन् । यो सुविधा सिप्रदीको आफ्नै डिसी फास्ट चार्जर नेटवर्कमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार हाल देशभर टाटा मोर्टसका १८५ भन्दा बढी फास्ट चार्जिङ स्टेशनहरू सञ्चालनमा छन् जसले ग्राहकहरूलाई देशभर चार्जिङको सुविधा पुर्याइरहेको छ ।

ईभी ग्राहकहरूको प्रमुख चिन्तामध्ये एक ब्याट्री मर्मत र प्रतिस्थापनको खर्चलाई मध्यनजर गर्दै कम्पनीले ब्याट्री डाइग्नोस्टिक एण्ड रिस्टोरेसन फेसिलिटी पनि सिप्रदी बाघडोल सञ्चालनमा ल्याएको हो । 

यो सुविधा नेपालमै एउटा मात्र रहेको कम्पनीको दाबी छ । यस अन्तर्गत यदि ब्याट्रीमा कुनै समस्या आएमा पुरै ब्याट्री फेर्नुपर्ने महँगो बाध्यता हट्नेछ । ब्याट्रीको मोडुअलमात्र परिवर्तन गर्न सकिन्छ । जुन मोडुअल वा सेल काम गरेको छैन, त्यहीमात्र फेर्ने सुविधा भएकाले खर्च अत्यन्तै न्यून हुन जान्छ ।  

सेल परिवर्तन गर्नुपर्ने अवस्था आउनुअघि नै टाटाले नेपालमा त्यसका लागि आवश्यक पूर्वाधार तयार पारिसकेको छ । नेपालमा ईभी बिक्री थाल्नुअघि नै ब्याट्री रिपेरिङ युनिट तयार भइसकेकाले यसमा ईभी प्रयोगकर्ता निश्चिन्त हुन सक्छन् ।

सिप्रदीले ईभी ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्न देशभर २१ वटा सर्भिस सेन्टर रहेको छ जसमा १७ वटा ईभी डेडिकेटेड सर्भिस सेन्टरहरू सञ्चालन गरिरहेको छ । यी सेन्टरहरूमा तालिमप्राप्त प्राविधिकहरूद्वारा सेवा प्रदान गरिन्छ । कम्पनीले स्पेयर पार्ट्सको उपलब्धता पनि राम्रो रहेको जनाएको छ, जसले मर्मतसम्भारमा ग्राहकहरूलाई सहजता प्रदान गर्नेछ ।
 
यी सुविधाहरूले ईभी ग्राहकहरूलाई थप प्रोत्साहन मिल्ने र वातावरणमैत्री सवारीसाधन प्रयोगलाई बढावा दिने विश्वास कम्पनीको छ ।

Share News