काठमाडौं । होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले हान स्थापना भएको ६० वर्ष पूरा भएको अवसरमा आयोजित हीरक जयन्ती तथा नेपाल सत्कार दिवसको समारोह केवल औपचारिक उत्सवमा सीमित नरहेको बताएका छन् ।
उनका अनुसार यो अवसर नेपाली हस्पिटालिटी उद्योगको विगत यात्राको गम्भीर समीक्षा गर्ने, वर्तमान अवस्थाको वस्तुगत मूल्याङ्कन गर्ने र आगामी दिनमा देखिने चुनौती तथा सम्भावित अवसरहरूको लेखाजोखा गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा विकसित भएको छ ।
सन् १९६३ मा नेपालमा पर्यटन क्षेत्र प्रारम्भिक चरणमै रहँदा अग्रज व्यवसायीहरूको पहलमा संस्थागत सहकार्य र गुणस्तरीय सेवाको आधारशिला राख्दै होटल संघ नेपालको स्थापना गरिएको थियो ।
त्यसयता छ दशकको यात्रामा नेपालले राजनीतिक परिवर्तन, प्राकृतिक विपद् र कोभिड–१९ जस्ता गम्भीर महामारीको सामना गरे पनि संघले निरन्तर रूपमा होटल तथा पर्यटन उद्योगको साझा आवाज बनेर नीतिगत सुधारका लागि प्रभावकारी पैरवी गर्दै आएको अध्यक्ष शाहले बताए ।
शाहका अनुसार संघले विशेषगरी खुला आकाश नीतिको पक्षमा सन् १९९० को मध्य दशकदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यसले नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्यहरूसँग जोड्न सहयोग पुर्याउनुका साथै ग्रामीण तथा पर्वतीय पर्यटन विस्तारमा पुलको काम गरेको छ ।
पर्यटन वर्ष घोषणा, दीर्घकालीन पर्यटन रणनीति निर्माण र संकट व्यवस्थापनका कार्यक्रमहरूमा समेत होटल संघ नेपाल सरकारको भरपर्दो साझेदारका रूपमा स्थापित भएको शाहको भनाइ छ ।
पर्यावरणीय दायित्वप्रति संकेत गर्दै अध्यक्ष शाहले हरित पर्यटनको अवधारणालाई व्यवहारमा उतार्ने उद्देश्यसहित ‘से नो टु सिंगल युज प्लास्टिक’ अभियानको नेतृत्व संघले गरेको जानकारी दिए । उक्त पहललाई पछि नेपाल सरकारले आफ्ना नीतिगत मार्गदर्शनहरूमा समेत समेटेको उनले बताए ।
यसका साथै विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय होटल तथा रेस्टुरेन्टसम्बन्धी सम्मेलन नेपालमा आयोजना गर्ने पहलमार्फत होटल संघले नेपाली पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्न सक्रिय भूमिका खेलेको शाहले उल्लेख गरे ।