कामना सेवा विकास बैंकद्वारा झापाको आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको एक आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ ।

बैंकको शाखा कार्यालय इट्टाभट्टामार्फत मेचीनगर नगरपालिका–०८, झापा स्थित सृजनाचोकको आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर प्रदान गरिएको हो ।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले मेचीनगर नगरपालिका–०८, सृजनाचोक, झापाका वडा अध्यक्ष गिरीराज धमलाको उपस्थितिमा स्वास्थ्य केन्द्रका प्रमुख दिवाकर पौडेललाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन् ।

बैंकको यस सहयोगबाट स्वास्थ्य केन्द्रमा सेवा लिन आउने सबै वर्गका बिरामी लाभान्वित हुने विश्वास व्यक्त गर्दै प्रमुख पौडेलले विशेषगरी गरिब तथा असहाय सेवाग्राहीका लागि यो सुविधा थप सहज हुने बताए । साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस परोपकारी कार्यप्रति उनले बैंकप्रति धन्यवाद ज्ञापन गरे ।

बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूसँगको समन्वय तथा सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।  

Share News