आफ्ना माग सुनुवाई नभएको भन्दै विभिन्न पाँच स्वास्थ्य संगठन ४ दिनदेखि अनसनमा

काठमाडौं । आफ्ना माग सुनुवाई नभएको भन्दै विभिन्न पाँच स्वास्थ्य संगठनले चार दिनदेखि आमरण अनसन सुरु गरेका छन् ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐनको दफा ४ (२) बमोजिम मन्त्रालयसँग भएको विगतको सहमति कार्यान्वयन हुनुपर्ने भन्दै नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याबोटरी एसोसिएसन, नेपाल सिएमए संघ र हेल्थ असिस्टेन्ट संघले आमरण अनसन सुरु गरेका हुन् ।

परिषद् ऐन २०५३ जारी भएको झण्डै तीन दशक बितिसक्दा पनि ऐनको दफा ४ (२) अनुसार परिषद् पूर्ण रूपमा गठन हुन नसकेको, समयमै पदाधिकारी नियुक्ति नगरिएको र सबै पेशागत समूहको समावेशी प्रतिनिधित्व सुनिश्चित हुन नसकेको नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनका अध्यक्ष मिकेल देवकोटाले बताए ।

परिषद्मा आवश्यक सदस्य संख्या नपुग्दा दर्ता, नवीकरण, निरन्तर पेशागत विकास, अनुशासनात्मक कारबाही तथा नियमनजस्ता नियमित कामहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘२०५३ सालमा बनेको ऐन २८ वर्ष हुँदा पनि अहिलेसम्म परिवर्तन हुन सकेन, मेडिकल काउन्सिलको ऐन १५–१६ पटकसम्म परिवर्तन भइसकेको छ । हामीले पटक–पटक यो विषयमा आवाज उठायौं तर अहिलेसम्म सुनुवाइ भएन । आन्दोलनको मुख्य कारण यही हो । अर्को कुरा स्वास्थ्यकर्मीको तलबको हकमा सहमति अनुसार नपाउँदा हामी अनसन बस्नु परेको हो ।’

देवकोटाले आज पनि स्वास्थ्य मन्त्रालयमा दबाब कार्यक्रम गरेको बताए । चार दिनसम्म अनसन बसे पनि मन्त्रालयमा दबाब दिँदा आफूहरूका कुरा सुन्न सम्बन्धित निकायले कुनै चासो नदेखाएको भन्दै स्वास्थ्यकर्मीहरूले आपत्ति जनाएका छन् ।

Share News