काठमाडौं । पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले क्यासिनो सञ्चालनसम्बन्धी विद्यमान व्यवस्थाले राज्यको राजस्व वृद्धि र व्यवसाय प्रवर्द्धनमा अपेक्षित योगदान दिन नसकेको बताएका छन् ।
आइतबार (आज) बसेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा पर्यटन विधेयकमाथिको छलफलमा बोल्दै महानिर्देशक लामिछानेले यस्तो बताएका हुन् ।
उनले कानुनले रोक लगाएको बाबजुद चार तारे होटलमा समेत क्यासिनो खेलाउने गरेको उजुरीहरू धेरै पर्ने गरेको बताए ।
उनले पाँच तारेमाथिका होटललाई मात्र क्यासिनो खेलाउन अनुमति दिइएकोमा लुकिछिपि साना होटलहरूले समेत खेलाउँदा राजश्व संकलन घट्नुका साथै पर्यटन प्रवद्र्धन हुन नसकेको गुनासो गरे ।
महानिर्देशक लामिछानेले राज्यको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राखी क्यासिनोसम्बन्धी नीतिगत व्यवस्था सुधार गर्न आवश्यक रहेको औंल्याए । क्यासिनोको वर्गीकरण गर्दै ठूला क्यासिनोले क्षेत्रफल विस्तार गर्न पाउने गरी विधेयक निर्माण गर्न उनको माग छ ।
बैठकमा बोल्ने अधिकांश सांसदहरूले रोयल्टीको आधारमा क्यासिनोहरूको वर्गीकरण गर्नुपर्ने धारणा राखेका थिए ।