काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन शाहसँग भएको भेट छोटो भए पनि गहिरो र अर्थपूर्ण रहेको बताएका छन् ।
जनकपुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई जनाबीचको संवाद पाँच मिनेटमै टुंगिएको उल्लेख गरे ।
लामिछानेले त्यो भेट औपचारिक वार्ताभन्दा पनि आपसी सोच, दृष्टिकोण र उद्देश्य बुझ्ने प्रयासमा केन्द्रित रहेको बताए ।
‘देशलाई पहिलो प्राथमिकतामा राख्दा लामो वार्ताको नाटक आवश्यक हुँदैन,’ उनले भने, ‘व्यक्तिगत स्वार्थ हाबी भयो भने मात्रै वार्ता लम्बिन्छ र अन्ततः बिग्रिन्छ ।’
उनका अनुसार आफूहरू देश र जनताको चाहनालाई साझा आधार बनाएर एक ठाउँमा आएका हुन् । बालेनसँगको भेटपछि उनले घरमा टाँसिएको आमाको तस्बिरतर्फ हेरेर आत्मसंवाद गरेको प्रसंग पनि सुनाए ।
‘देश बनाउने इच्छामा बालेन शाहप्रति म पूर्ण रूपमा विश्वस्त भएँ,’ लामिछानेले भने, ‘त्यही विश्वासले हामीलाई एउटै दिशामा अघि बढाएको छ ।’