काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएसँगै चुनावी सरगर्मी ह्वात्तै बढेको छ । यसपटकको निर्वाचनमा पुरानो राजनीतिक विरासत बोकेका नेताहरूसँगै देशका कहलिएका ठूला व्यावसायिक घराना र उद्यमीहरूको सहभागिता देखिएको छ ।
नेपालका एक मात्र डलर अर्बपति तथा सीजी ग्रुपका अध्यक्ष विनोद चौधरीले नवलपरासी (पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको तर्फबाट पुनः उम्मेदवारी दर्ता गराएका छन् । २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका चौधरी यसपटक पनि आफ्नो विरासत जोगाउने दाउमा छन् ।
त्यस्तै, मेडिकल क्षेत्रका चर्चित व्यवसायी डा. सुनिलकुमार शर्माले मोरङ क्षेत्र नम्बर ३ बाट कांग्रेसकै उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् । नोबल र काठमाडौं मेडिकल कलेजका सञ्चालक शर्मा अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए ।
यसैगरी, यसपटक स्याङ्जा क्षेत्र नम्बर १ मा भने रोचक भीडन्त हुने देखिएको छ । यहाँ मुख्य तीन दलले नै व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरूलाई मैदानमा उतारेका छन् ।
नेपाली कांग्रेसबाट मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष भरतराज ढकालले मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेबाट मुक्तिनाथ विकास बैंककै पूर्वअध्यक्ष मीनप्रसाद गुरुङले मनोनयन दर्ता गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पर्यटन बोर्डका पूर्वसीईओ तथा पर्यटन व्यवसायी धनञ्जय रेग्मीले मनोनयन दर्ता गरेका छन् ।
रास्वपाले पनि व्यावसायिक क्षेत्रका व्यक्तिहरूलाई प्राथमिकता दिएको छ । बाजेको सेकुवाकी निर्देशक नीतिमा कार्की भण्डारी सर्लाही क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी छिन् भने काठमाडौं क्षेत्र नम्बर ९ बाट मेनपावर व्यवसायी डीपी अर्याल चुनावी मैदानमा छन् । अर्यालको सहकारीदेखि ट्राभल्स र स्कुलसम्म लगानी छ ।
यस्तै, सबैभन्दा रोचक त काठमाडौं क्षेत्र नम्बर १ मा देखिएको छ, जहाँ राइड सेयरिङ एप पठाओका सञ्चालक असिममान सिंह बस्नेतले स्वतन्त्र उम्मेदवारी दर्ता गराएर युवाहरूको ध्यान खिचेका छन् । उनीसँग रास्वपाबाट रञ्जु दर्शना, नेपाली कांग्रेसबाट प्रबल थापा र नेकपा एमालेबाट विनोद श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन् ।
गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले पर्यटन तथा घरजग्गा व्यवसायी प्रेम खत्री (पिके भेन्चर्सका प्रबन्ध निर्देशक) लाई उम्मेदवार बनाएको छ । सोही क्षेत्रमा यसअघि प्रमेश खत्रीको नाम चर्चामा रहे पनि कांग्रेसले खत्रीलाई टिकट दिएर व्यावसायिक क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
यस्तै, सिरहा क्षेत्र नम्बर ४ मा जनमत पार्टीबाट माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष वीरेन्द्रकुमार महतो उम्मेदवार बनेका छन् । नवलपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटा चुनावी मैदानमा छन् ।
रुपन्देही क्षेत्र नम्बर २ मा यशोदा फुड्सका सञ्चालक चुन्नप्रसाद शर्मा नेपाली कांग्रेसबाट मैदानमा छन् । कपिलवस्तु ३ मा लुम्बिनी सुगर मिल्सका अध्यक्ष वीरेन्द्रकुमार कनौडिया नेकपा एमालेबाट चुनावी मैदानमा होमिएका छन् ।
यस्तै, धादिङका दुवै क्षेत्रमा कांग्रेसले पर्यटन व्यवसायीलाई उठाएको छ । धादिङ क्षेत्र नम्बर २ बाट टानका पूर्वअध्यक्ष रमेश धमला र क्षेत्र नम्बर १ बाट कृष्ण रिजाल चुनावी मैदानमा छन् । रसुवामा चर्चित निर्माण व्यवसायी मोहन आचार्यले कांग्रेसबाट पुनः उम्मेदवारी दिएका छन् भने मनाङमा एमालेले पर्यटन व्यवसायी पोल्देन छोपाङलाई अघि सारेको छ ।
त्यस्तै, भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपाले उद्योग वाणिज्य संघका महासचिव रुकेश रञ्जितलाई उम्मेदवार बनाएको छ भने सोलुखुम्बुमा कांग्रेसले एफएनसीसीआईका पूर्वसदस्य प्रकाशसिंह कार्कीलाई टिकट दिएको छ ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विजय स्वाँर नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । उनले नेकपा एमालेका सूर्यबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल र नेकपाका नन्दबहादुर साउदसँग प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै, नेपाली कांग्रेसले दाङ क्षेत्र नम्बर ३ बाट दीपक गिरीलाई उम्मेदवार बनाएको छ । व्यवसायी पृष्ठभूमिका गिरी निवर्तमान सांसदसमेत हुन् । सोलुखुम्बुबाट कांग्रेसको टिकट पाएका प्रकाशसिंह कार्की नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य हुन् ।
कार्कीको कार्गो, कुरियरलगायतका व्यवसाय सञ्चालनमा छन् । पर्सा क्षेत्र नम्बर १ बाट कांग्रेस उम्मेदवार बनेका अनिल रुङ्गटा सेयर बजारका चर्चित व्यवसायी हुन् । विभिन्न इन्भेष्टमेन्ट कम्पनी, बीमा कम्पनीमा लगानी गरेका उनी बेलाबेलामा विवादमा समेत आउने गरेका छन् ।
मनाङमा कांग्रेसले व्यवसायी उम्मेदवारलाई प्राथमिकता दिएको देखिन्छ । यहाँबाट टेकबहादुर गुरुङ र युवा पर्यटन व्यवसायी योगेश गौचन थकाली कांग्रेसका उम्मेदवार हुन् । थकाली निवर्तमान सांसदसमेत हुन् ।
बाराको क्षेत्र नम्बर ४ बाट कांग्रेस उम्मेदवार बनेका कृष्णकुमार (किसान) श्रेष्ठको सिमरामा होटल, अपार्टमेन्ट, निर्माण सामग्री उद्योगसँगै विभिन्न व्यवसाय सञ्चालनमा छन् । उनले सौर्य ऊर्जा, जलविद्युत तथा वैदेशिक रोजगार क्षेत्रमा समेत लगानी गरेका छन् ।
झापा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका लालप्रसाद लिम्बु साँवा (एलपी साँवा) ऊर्जा, जलविद्युत, इन्भेष्टमेन्ट कम्पनी तथा वैदेशिक रोजगार व्यवसायसँग जोडिएका छन् । काभ्रे क्षेत्र नम्बर १ बाट उम्मेदवार अमित लामा झम्सिखेलस्थित पार्टी प्यालेस, दरबारमार्गको क्लब प्लाटिनम (नाइट क्लब) र कमलपोखरीको गजल रेस्टुरेन्टका सञ्चालक हुन् ।
बागलुङ क्षेत्र नम्बर २ का उम्मेदवार हिराबहादुर केसी ऊर्जा व्यवसायी हुन् । उनको दरमखोला जलविद्युत आयोजनामा लगानी छ । सुनसरी ३ बाट एमाले उम्मेदवार भगवती चौधरी लघुवित्त संस्थाकी लगानीकर्ता तथा पूर्वा कम्युनिटी लघुवित्तकी पूर्व अध्यक्ष हुन् ।
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डे धादिङ क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धामा छन् । उनी सहकारी सञ्चालनसँगै मनमोहन मेमोरियल अस्पतालमा समेत लगानीकर्ता हुन् ।
भुक्तानी सेवा प्रदायक खल्तीका सह-संस्थापक अरविन्द साहले बारा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिएका सुमन सायमी पार्टी प्यालेस र होटल व्यवसायमा संलग्न छन् । कालीमाटीस्थित ‘स्वीटकेभ’ होटल उनको स्वामित्वमा छ ।