माछापुच्छ्रे क्यापिटलको २ वटा विद्यालयमा सहयोग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले छैठौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूका लागि न्यानो लुगा तथा खाद्यान्न सामग्री वितरण गरेको छ ।

क्यापिटलले माघ ६ गते लायन्स क्लब अफ काठमाडौं नमस्तेसँगको सहकार्यमा नुवाकोटको तादी गाउँपालिका–५, अत्मारास्थित श्री हेमवतेश्वर वेद विद्याश्रम (गुरुकुल) मा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो लुगा तथा खाद्यान्न सामग्री प्रदान गरेको हो ।

त्यसैगरी, माघ ७ गते काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४, पासीकोटस्थित श्री श्रीराम आधारभूत विद्यालयलाई तीन थान कम्प्युटर सेट सहयोग गरिएको छ ।

यसका साथै, दुवै विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूका लागि वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम समेत सञ्चालन गरिएको क्यापिटलले जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको यस सहयोगले विद्यार्थीहरूको पठन–पाठनमा सहजता ल्याउनुका साथै दैनिक आवश्यकताको परिपूर्तिमा सहयोग पुग्ने र विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा दीर्घकालीन योगदान पुग्ने क्यापिटलको विश्वास छ । साथै, कम्प्युटर वितरणले विद्यार्थीहरूको सूचना प्रविधिसम्बन्धी ज्ञान, डिजिटल सिप र व्यवहारिक क्षमता विकासमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । सार्वजनिक लिमिटेड कम्पनीका रूपमा स्थापित मर्चेन्ट बैंकर माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

Share News