जर्मनीलाई उछिन्दै तेस्रो स्थानतर्फ भारत, भविष्यमा विश्वकै नम्बर एक अर्थतन्त्र हुने दाबी

काठमाडौं । भारत विश्वमै सबैभन्दा छिटो वृद्धि भइरहेको अर्थतन्त्र हो । हाल अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो भने चीन दोस्रो स्थानमा छ । 

स्टेट बैंक अफ इन्डिया (एसबीआई) रिसर्चको एक रिपोर्टले भारत चाँडै जर्मनीलाई उछिन्दै तेस्रो स्थानमा पुग्न सक्ने जनाएको छ ।

यसैक्रममा अमेरिकी लगानी कम्पनी कार कार्लाइल ग्रुपका सह–संस्थापक डेभिड रुबेनस्टीनले भारत केही दशकभित्रै विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सक्ने दावी गरेका छन् । उनले स्विट्जरल्यान्डको दावोसमा भइरहेको विश्व आर्थिक मञ्चका क्रममा इकोनोमिक्स टाइम्ससँगको विशेष अन्तर्वार्तामा यो कुरा बताएका हुन् ।

रुबेनस्टीनले भने, ‘मलाई लाग्छ २०–३० वर्षभित्र भारत विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सक्छ ।’

उनले अमेरिका–भारत सम्बन्धबारे कुनै चिन्ता नरहेको पनि बताए । उनका अनुसार राष्ट्रपति ट्रम्प सामान्यतया भारतसँगको अमेरिकाको सम्बन्धप्रति निकै सकारात्मक रहँदै आएका छन् । उनले आफ्ना अत्यन्त नजिकका सहयोगीमध्ये एकलाई राजदूतका रूपमा पठाएका छन् ।

रुबेनस्टीनले भारतीय नीति–निर्मातालाई विश्वव्यापी प्राइभेट क्रेडिट, प्राइभेट इक्विटी र प्राइभेट लगानीलाई पश्चिमी ढाँचाको मात्र लगानीका रूपमा नहेर्न आग्रह गरे । उनका अनुसार जब प्राइभेट इक्विटी र प्राइभेट क्रेडिट बजारलाई फस्टाउन दिइन्छ, तब पर्याप्त पूँजी भएका भारतीय उद्यमीहरू पनि यस क्षेत्रमा प्रवेश गर्छन् । यस्ता नीतिहरूले धेरैलाई भारतमै बस्न र लगानी गर्न प्रोत्साहन गर्नेछन् ।

रुबेनस्टीनका अनुसार प्राइभेट इक्विटी भनेको सेयर बजारमा सूचीकृत नभएका कम्पनीहरूमा सिधै पुँजी लगानी गर्नु हो । अर्थात् सेयर किनबेच हुने बजारमार्फत होइन, कम्पनीसँग प्रत्यक्ष साझेदारी गरेर लगानी गरिन्छ । यसले ती कम्पनीहरूलाई विस्तार, प्रविधि सुधार वा व्यवस्थापन सुदृढीकरणका लागि आवश्यक पूँजी उपलब्ध गराउँछ ।

त्यसैगरी, प्राइभेट क्रेडिट भनेको परम्परागत बैंकिङ प्रणालीबाट ऋण नलिई कम्पनीहरूले निजी लगानीकर्ताबाट सिधै ऋण लिने प्रक्रिया हो । बैंकको लामो प्रक्रिया र कडा सर्तभन्दा बाहिर रहेर आवश्यक पूँजी जुटाउन सकिने भएकाले पछिल्लो समय यो विकल्प लोकप्रिय बन्दै गएको छ ।

यी दुवै लगानीका ढाँचा परम्परागत वित्तीय प्रणालीभन्दा फरक, नयाँ र लचिलो उपायका रूपमा विकसित हुँदै आएका छन् । यही रणनीतिअन्तर्गत उक्त समूहले भारतमा विभिन्न क्षेत्रका कम्पनीहरूमा हालसम्म ८ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ, जसले निजी लगानीको बढ्दो प्रभाव र महत्व देखाउँछ ।

उनले ट्रम्पको चीन नीति चीनलाई नोक्सान पुर्याउने उद्देश्यले नभई व्यापारिक असन्तुलन सुधार्न केन्द्रित रहेको पनि बताए ।

रुबेनस्टीनले भने, ‘जब चीनले अमेरिकासँग केही चुनौतीहरू रहेको महसुस गर्यो, तब उसले आफ्ना उत्पादन अन्य बजारमा बेच्न थालेको छ । त्यसैले अहिले चीनको वार्षिक व्यापारिक अधिशेष एक ट्रिलियन डलरभन्दा बढी छ, जुन अन्य बजारमा बिक्री बढाएका कारण सम्भव भएको हो ।’

यसैक्रममा रुबेनस्टीनले   रुस–युक्रेनको मुद्दा पनि उठाएका छन् । उनका अनुसार ट्रम्पका लागि चीनभन्दा पनि रुस–युक्रेनको विषय ठूलो मुद्दा हो । उनले भने, ‘ट्रम्पलाई लाग्छ कि राष्ट्रपति सी जिनपिङसँग उनको राम्रो सम्बन्ध छ र उनीहरू यस वर्ष कम्तीमा दुई पटक भेट्नेछन् । सम्भवतः उनीहरूबीच कुनै सम्झौता पनि हुन सक्छ ।’

२०२८ मा जर्मनीलाई उछिन्दै भारत, ५ ट्रिलियन डलर अर्थतन्त्र बन्ने प्रक्षेपण
 

Share News