४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २७१४ बिन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार १६२ कम्पनीको सेयर मूल्य बढ्दा ८८ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

बिहीबार ३३२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युत कम्पनीको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै मन्जुश्री फाइनान्सको ३५ करोड, एसवाई प्यानलको ३२ करोड, बन्दिपुर केबलबारको २८ करोड र श्रीनगर एग्रीटेकको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल, श्रीनगर एग्रीटेक, त्रीशुली जलविद्युत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।   

बिहीबार १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै २.३८ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । 
 

Share News