काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा स्थापना तथा सेवा सञ्चालनको १७औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्सन सार्वजनिक गरी सन् २०१० जनवरी २५ देखि औपचारिक सेवा सुरु गरेको इसेवाले डिजिटल भुक्तानीको सुरुवातदेखि डिजिटल अर्थतन्त्रको विस्तारसम्मको १६ वर्षे यात्रा पूरा गर्दै १७औँ वर्षमा प्रवेश गरेको हो ।
‘सबै, सधैं, सँगै’ भन्ने मूल नाराका साथ सेवा प्रदान गर्दै आएको इसेवाले आर्थिक गतिविधिलाई सरल, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउने माध्यमका रूपमा आफूलाई विकास गर्दै आएको छ । हाल इसेवाले टपअप, युटिलिटी बिल भुक्तानी, हवाई टिकट, होटल बुकिङ, बिमा खरिद, चलचित्र टिकट, कर्जा, लगानी लगायतका सेवाहरू प्रदान गर्दै हरेक नेपालीको दैनिकीसँग जोडिएको डिजिटल प्लेटफर्मका रूपमा आफूलाई स्थापित गरेको छ ।
१७औँ वार्षिकोत्सव तथा इन्नोभेसन डेका अवसरमा आयोजित कार्यक्रममा बोल्दै इसेवाका अध्यक्ष पर्शुराम कुँवर क्षेत्रीले नेपालको अग्रणी भुक्तानी सेवा प्रदायकका रूपमा इसेवाका सेवाहरूलाई अझ उत्कृष्ट, सुरक्षित र भरपर्दो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले नियामक निकाय, प्रयोगकर्ता, समाज तथा सबै सरोकारवालासँग सहकार्य गर्दै डिजिटल वित्तीय सेवाको विस्तारमार्फत समाजमा सकारात्मक योगदान दिन इसेवा प्रतिबद्ध रहेको बताए ।
त्यसैगरी, इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवाले सधैँ सबैलाई समेट्दै सँगै अगाडि बढ्ने मूल मन्त्रका साथ सेवा प्रदान गर्दै आएको जानकारी दिए । उनले इसेवाको १७ वर्षे यात्राले नेपाली कम्पनी पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको प्रमाणित गरेको उल्लेख गरे ।
'आज हामी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने फिनटेक कम्पनीका रूपमा स्थापित हुँदै गएका छौँ । यस उपलब्धिलाई हामी गन्तव्य होइन, भविष्यका नवप्रवर्तनहरूको आधारका रूपमा लिएका छौँ,' खड्काले भने ।
इसेवाले आफ्नो १७ वर्षे यात्रामा सहज, सुरक्षित र द्रुत भुक्तानी सेवा तथा वित्तीय समावेशितालाई मूल लक्ष्यका रूपमा अघि बढाउँदै आएको छ । प्रयोगकर्ता–केन्द्रित नवप्रवर्तनमार्फत सबै वर्गको डिजिटल अर्थतन्त्रमा सहभागिता बढाउने, प्रयोगकर्ता, एजेन्ट तथा मर्चेन्टका लागि भुक्तानी अनुभव सरल बनाउने र डिजिटल नेपाल निर्माणमा ठोस योगदान पुर्याउने प्रतिबद्धता इसेवाले व्यक्त गरेको छ ।