काठमाडौं । अमेरिकी सरकारले ओक्लाहोमा रहेको उत्खनन कम्पनी यूएसए रेयर अर्थमा १.६ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ । यसबापत सरकारले कम्पनीको १० प्रतिशत हिस्सेदारी प्राप्त गर्नेछ ।
फाइनान्सियल टाइम्स (एफटी) ले शनिबार यस विषयमा जानकारी भएका स्रोतहरूलाई उद्धृत गर्दै यो समाचार प्रकाशित गरेको हो ।
रिपोर्टअनुसार सरकारी लगानीसँगै १ अर्ब डलरको छुट्टै निजी वित्तीय सम्झौता पनि सोमबार सार्वजनिक गरिने तयारी छ ।
यस विषयमा ह्वाइट हाउस र यूएसए रेयर अर्थले तत्काल जवाफ दिएका छैनन् ।
एफटीका अनुसार सरकारले दुर्लभ खनिज कम्पनीमा १६.१ मिलियन सेयर प्राप्त गर्नेछ । साथै थप १७.६ मिलियन सेयर खरिद गर्न सकिने वारेन्ट पनि पाउनेछ । दुवैको मूल्य प्रति सेयर १७.१७ डलर तोकिएको छ ।
गत वर्ष डिसेम्बरमा वासिङ्टनले राष्ट्रिय सुरक्षा प्रयोजनका लागि आवश्यक लिथियम, दुर्लभ खनिज तथा अन्य खनिजहरूको घरेलु उत्पादन बढाउन र चीनमाथिको निर्भरता घटाउन अमेरिकी उत्खनन क्षेत्रमा थप ‘ऐतिहासिक सम्झौता’ गर्ने योजना रहेको जनाएको थियो । चीनले व्यापार वार्तामा आफ्नो खनिज क्षमतालाई दबाबका रूपमा प्रयोग गर्दै आएको छ ।
गत वर्ष अमेरिकी प्रशासनले एमपी मटेरियल्स, लिथियम अमेरिकाज र ट्रिलोजी मेटल्समा पनि हिस्सेदारी लिएको थियो ।
यूएसए रेयर अर्थसँगको सम्झौता ‘सेमिकन्डक्टर आपूर्ति शृंखला र अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यावश्यक तथा रणनीतिक खनिजलाई देशभित्रै उत्पादन गर्ने (अनशोरिङ) मा केन्द्रित’ रहेको अमेरिकी वाणिज्य विभागअन्तर्गतको चिप्स कार्यालयका एक अधिकारीलाई उद्धृत गर्दै एफटीले जनाएको छ । उक्त कार्यालयले अमेरिकामा लगानी र उपकरणका लागि प्रोत्साहन प्रदान गर्दछ ।
एफटीका अनुसार कम्पनीले थप १ अर्ब डलरभन्दा बढी नयाँ इक्विटी उठाउने प्रयासको नेतृत्व गर्न लगानी बैंक तथा ब्रोकरेज फर्म क्यान्टर फिट्जगेराल्डलाई पनि समावेश गरेको छ । उक्त संस्थाका अध्यक्ष ब्रान्डन लुटनिक हुन्, जो अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकका छोरा हुन् ।
यूएसए रेयर अर्थले टेक्सासको सिएरा ब्लान्कामा खानी विकास गर्दै आएको छ भने ओक्लाहोमाको स्टिलवाटरमा नियो म्याग्नेट उत्पादन गर्ने कारखाना निर्माण गरिरहेको छ । उक्त कारखाना २०२६ को पहिलो छ महिनामा व्यावसायिक रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
३.४५ अर्ब डलरको बजार पुँजीकरण भएको यो कम्पनी अमेरिकाका ठूला नियो म्याग्नेट उत्पादकहरूमध्ये एकका रूपमा उदाएको छ ।
(रोयटर्सबाट अनुदित तथा सम्पादित)