काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से )परिसूचक ५७ अंकले बढेर २७७२ बिन्दुमा पुगेको हो ।
नेप्सेका अनुसार २४० कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
आइतबार ३३१ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै ग्रीन भेन्चरको ३९ करोड, शिवम् सिमेन्टको ३२ करोड, युनाइटेड मोदीको ३० करोड र बन्दिपुर केबलकारको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल, श्रीनगर एग्रीटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दिपुर केबलकार, हिमस्टार ऊर्जा, माबिलुङ इनर्जी, रिलाइन्स फाइनान्स, आँखु खोला र त्रिशुली जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।
आइतबार सबै उपसमूहका सूचकमा हरियाली छाएको छ । बैकिङ १.७९ प्रतिशत, डेभलपमेन्ट बैंक १.६८ प्रतिशत, फाइनान्स १.७३ प्रतिशत, होटल तथा टुरिजम ३.३५ प्रतिशत, हाइड्रोपावर २.७४ प्रतिशत र लगानी २.८४ प्रतिशतले बढेका छन् ।