काठमाडौं । ओएन बायोटेकले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य रु. १०० दरका ३० लाख कित्ता साधारण सेयर सार्वजनिक गर्न लागेको हो ।
कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
बुधबार सम्झौतापत्रमा ओएन बायोटेकका तर्फबाट अख्तियार प्राप्त सञ्चालक अध्यक्ष चुन्नप्रसाद शर्माले र ग्लोबल आइएमईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मन्दिप लुइँटेलले हस्ताक्षर गरे ।
विसं २०७६ साल पौष २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको ओएन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडको केन्द्रीय कार्यालय रुपन्देहीको तिलोत्तमा–१६ मा रहेको छ । कम्पनीका उद्योग क्षेत्रहरू तिलोत्तमा–१६, १७ तथा शुद्धोधन–१ मा सञ्चालनमा छन् ।
कम्पनीले कृषि उत्पादनपछि खेर जाने सहायक सामग्रीहरू- पराल, भुस, उखुको बगास, तोरीको पिना तथा भुसजस्ता कच्चा पदार्थ प्रयोग गरी ताजा च्याउ उत्पादन गर्दै आएको छ । साथै गहुँ, जुनेलो र कोदो प्रयोग गरी विभिन्न प्रकारका च्याउका बीउ–बीजन उत्पादन तथा आपूर्ति पनि गरिरहेको छ ।
ताजा च्याउको बजारीकरणसँगै कम्पनीले अत्याधुनिक प्रविधिबाट प्रशोधन गरिएको ड्राई मसरुम उत्पादन गरिरहेको छ भने भविष्यमा क्यान मसरुम प्लान्ट सञ्चालन गर्ने लक्ष्यसमेत लिएको छ । यसका अतिरिक्त, मौसमी तरकारी उत्पादन तथा बजारीकरण, किसानका लागि कम्पोष्ट मल उपलब्ध गराउने कार्य पनि कम्पनीले गर्दै आएको छ ।