पोखरा फाइनान्सको साधारण सभा सम्पन्न, समृद्धिसँग मर्जर प्रस्ताव पारित

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको २८औं तथा २९औं वार्षिक साधारण सभा बुधबार पोखरास्थित दरबारथोक ब्यांक्वेटमा सम्पन्न भएको छ ।

साधारण सभामा कम्पनीका अध्यक्ष राजकुमार गुरुङले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले आर्थिक वर्ष २०८०/८१ तथा २०८१/८२ का लागि लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण र सोसँग सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।

त्यसैगरी, साधारण सभाले समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँग बराबरी सेयर अनुपातमा गाभिने (मर्जर) प्रस्ताव अनुमोदन गरेको छ । गत साउनमा पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जर प्रयोजनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

मर्जर प्रक्रिया अघि बढाउन गठित संयुक्त मर्जर समितिले दुवै संस्थाका सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गरेको थियो । मूल्यांकनकर्ताले तयार पारेको प्रतिवेदन साधारण सभाले पारित गरेको हो ।

साधारण सभाबाट अनुमोदन भएपछि दुवै वित्तीय संस्थाले अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिने तयारी गरेका छन् । राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएपछि दुवै संस्था गाभिएर ‘पोखरा फाइनान्स लिमिटेड’ का नामबाट एकीकृत कारोबार सुरु गर्ने जनाइएको छ ।  

Share News