काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ४६.७१ प्रतिशत बढेर ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यससँगै चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंक बनेको छ ।
चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी २.४२ प्रतिशत बढेर ८ अर्ब ८ करोड ७२ लाख ८८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ८९ करोड ५९ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ६.६१ प्रतिशत बढेर १ अर्ब ६१ करोड १३ लाख २७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.५८ प्रतिशत बढेर १० अर्ब ६३ करोड १७ लाख २९ हजार रुपैयाँ, सञ्चालन नाफा २६.९५ प्रतिशत बढेर ६ अर्ब ५७ करोड २६ लाख ९८ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब २७ करोड ३० लाख ३२ हजार रुपैयाँ रहेको छ । ३२ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३३ अर्ब ४२ करोड ८० लाख ५६ हजार रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन ७.९० प्रतिशत बढेर ५ खर्ब ६६ अर्ब ५ करोड ९४ लाख १४ हजार रुपैयाँ र कर्जा प्रवाह ५.७८ प्रतिशत बढेर ४ खर्ब ३४ अर्ब ७३ करोड ८४ लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड ५९ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब ९९ करोड २० लाख ४१ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.१२ प्रतिशत छ । यस्तै, बैंकको आधार दर ५.०४ प्रतिशत छ । गत वर्षको पुसमा ४.९३ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा ४.२५ प्रतिशतमा झरेको छ ।
बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ११.०६ रुपैयाँ बढेर ३५.०४ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २३५.६४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.९१ गुणा छ ।