काठमाडौं । कृषि विकास बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग प्रदान गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा तथा दिगो विकास लक्ष्य क्षेत्रमार्फत शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ । यस सहयोगले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई डिजिटल प्रविधियुक्त माध्यमबाट पठनपाठन गर्न सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण कार्यक्रम बुधबार आयोजित एक कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा. भवानी शंकर आचार्यलाई डिजिटल बोर्ड हस्तान्तरण गरे ।
कार्यक्रममा बैंकका तर्फबाट उपमहाप्रबन्धक सुवेदीसहित विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्वय ध्रुव पौडेल र अञ्जु दाहाल, वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा, कीर्तिपुर शाखाका प्रबन्धक नारायणलाल श्रेष्ठ तथा बैंकका पूर्व उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।
त्यसैगरी, व्यवस्थापन केन्द्रीय विभागका तर्फबाट विभाग प्रमुख प्रा. भवानी शंकर आचार्य, प्रा. डा. डिल्ली राज शर्मा लगायतका प्राध्यापकहरू, विश्वविद्यालयका कर्मचारीहरू तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सहायक प्रा. डा. सुनिता भण्डारी घिमिरेले गरेकी थिइन् ।