के हो निपा भाइरस, कस्ता देखिन्छन् लक्षण ?

काठमाडौं । निपा भाइरस एक गम्भीर र खतरनाक भाइरस हो, जसले जनावरबाट मानिसमा र मानिसबाट मानिसमा रोग सार्न सक्छ । यसको मृत्युदर उच्च हुने भएकाले यसबारे सचेत रहनु अत्यन्त आवश्यक छ । 

यो कसरी सर्छ ? 

निपा भाइरस मुख्यतया ’फ्रुट ब्याट’ (फलफूल खाने चमेरो) बाट सर्ने गर्दछ । संक्रमित फलफूल जस्तै चमेरोले टोकेका वा जुठो हालेका फलफूल (विशेषगरी अम्बा, लिची, खजूर) खाँदा सर्न सक्छ । यो रोग सर्ने अर्को माध्यम भनेको जनावरको सम्पर्क जस्तै संक्रमित सुँगुर वा अन्य जनावरको र्याल र पिसाबको सम्पर्कमा आउँदा सर्छ भने  मानिसबाट मानिसमा जस्तै संक्रमित व्यक्तिको थुक, सिंगान वा रगतको प्रत्यक्ष सम्पर्कमा आउँदा विशेषगरी बिरामीको हेरचाह गर्ने कुरुवा वा स्वास्थ्यकर्मीमा सर्ने जोखिम हुन्छ ।

कस्ता लक्षणहरू देखापर्छन् ?

निपा संक्रमण भएको ५ देखि १४ दिनभित्र लक्षणहरू देखिन थाल्छन् । यसको संक्रमण हुँदा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने र श्वासप्रश्वासमा कठिनाइ हुने गर्छ । यस्तै मांसपेशी दुख्ने र निकै थकाइ महसुस हुने, गम्भीर अवस्थामा मस्तिष्क सुन्निने गर्छ जसले गर्दा मानसिक अलमल हुने, छारे रोग जस्तै काँप्ने वा बिरामी कोमामा जाने हुन सक्छ ।  

बच्ने उपायहरू के हुन ?

अहिलेसम्म यो भाइरस विरुद्ध कुनै निश्चित खोप वा औषधि बनिसकेको छैन । सावधानी नै सबैभन्दा ठूलो उपचार हो । फलफूल सफा गरेर मात्र खाने गर्नुपर्छ । भुईँमा झरेका वा चरा–चमेरोले टोकेका जस्ता देखिने फलफूल कहिल्यै खान हुँदैन । फलफूल खानुअघि राम्ररी पखाल्नुपर्छ भन साबुन पानीले नियमित रूपमा हात धुने गनपर्छ । यसबाट बच्न  बिरामी देखिएका सुँगुर वा अन्य जनावरहरूको नजिक जान हुँदैन । यदि कोही व्यक्ति संक्रमित छ भने उनीहरूलाई छुँदा मास्क, पन्जा र सुरक्षाका सामग्री प्रयोग गर्नुपर्छ । 

यदि लक्षण देखिएमा के गर्ने ? 

यदि तपाईं वा तपाईंको वरपर कसैमा यस्ता लक्षणहरू देखिएका छन् र उनीहरू चमेरो वा संक्रमित क्षेत्रको सम्पर्कमा आएका छन् भने तुरुन्त नजिकैको अस्पतालमा सम्पर्क गर्नुपर्छ ।  बिरामीलाई अलग्गै (आइसोलेसन) राख्नुपर्छ  । स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि सेवन गर्नुहुँदैन । निपा भाइरसको संक्रमण दर कम भए पनि यसको जोखिम धेरै रहेकाले सरसफाइमा ध्यान दिएर र खानपानमा सतर्कता अपनाए यस्ता संक्रमणबाट बच्न सकिन्छ ।   

Share News