काठमाडौं । काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने ८ वटा मोटरसाइकललाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
उपत्यकाका विभिन्न क्षेत्रमा पछिल्लो समय चर्को आवाज निकाल्ने मोटरसाइकलका कारण स्थानीय बासिन्दा हैरान भएको गुनासो बढ्दै गएपछि ट्राफिक प्रहरीले विशेष चेकजाँच अभियान सञ्चालन गर्दै आएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका-८ अन्तर्गत नेपालटार र डाँडागाउँ सडक खण्डमा गरिएको विशेष चेकजाँचका क्रममा ती ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
‘तारकेश्वर क्षेत्रमा स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्दै मोटरसाइकल चलाउने गरेको भन्ने गुनासो आएपछि ट्राफिक प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा सम्बन्धित निकायमा दर्ता नभई सञ्चालन भइरहेको एक आईटी ग्यारेजमा चेकजाँच गर्दा ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो,’ उनले भने ।
उनका अनुसार ती मोटरसाइकलमा साइलेन्सर पाइप तथा अन्य संरचनामा अवैध रूपमा परिवर्तन गरिएको पाइएको र जसका कारण अत्यधिक ध्वनि उत्पन्न भई वातावरणीय प्रदूषण बढ्नुका साथै सर्वसाधारणको दैनिकीमा प्रतिकूल असर परेको थियो ।
चर्को आवाज निकाल्ने सवारीसाधनले ध्वनि प्रदूषण मात्र होइन, मानव स्वास्थ्यमा समेत गम्भीर नकारात्मक असर पुर्याउने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।
‘अत्यधिक ध्वनिका कारण बालबालिका, वृद्धवृद्धा, बिरामी तथा विद्यार्थीहरू बढी प्रभावित हुने गरेका छन् । त्यसैले स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने सवारीसाधन नचलाउन सबै सवारी चालकलाई आग्रह गर्दछौँ,’ उनले भने ।
प्रवक्ता सुवेदीका अनुसार नियन्त्रणमा लिइएका ती सवारीसाधनलाई यातायात व्यवस्था ऐन, २०४९ अनुसार आवश्यक कानुनी कारबाही गरिनेछ । नियन्त्रणमा लिइएका मोटरसाइकललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अहिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ ।
ट्राफिक प्रहरीले सवारीसाधनलाई कानुनले तोकेको मापदण्डअनुसार सञ्चालन गर्न र अवैध रूपमा स्वरूप परिवर्तन नगर्न सबै सवारी चालक तथा ग्यारेज सञ्चालकलाई सचेत रहन आग्रह गरेको छ ।