काठमाडौं । प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचनका लागि नेकपा एमालेले अघि सारेका महिला उम्मेदवारहरू संख्या र प्रभाव दुवै हिसाबले सीमित भए पनि राजनीतिक अर्थमा उनीहरूको उपस्थितिलाई हल्का रूपमा लिन मिल्दैन ।
एमालेबाट उम्मेदवार बनेका धेरैजसो महिलाहरूका लागि उनीहरूको निर्वाचन क्षेत्र सुरक्षित छैन । बरु, पार्टीले अधिकांश महिला उम्मेदवारलाई कडा प्रतिस्पर्धा हुने ‘टफ’ निर्वाचन क्षेत्रमा मैदानमा उतारेको छ । जहाँ उनीहरूले आफ्नो भविष्य खोजिरहेका छन् ।
एमालेले प्रत्यक्ष निर्वाचनमा १० महिला उम्मेदवार मैदानमा उतारेको छ । बर्दिया–२ मा विमला विक, बागलुङ–२ मा मञ्जु शर्मा र तनहुँ–१ मा भगवती न्यौपाने मैदानमा छन् । यस्तै, पर्सा–२ बाट रिमाकुमारी यादव, बारा–३ बाट ज्वालाकुमारी साह र महोत्तरी–४ बाट नीलम अधिकारीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, धनुषा–३ बाट जुलीकुमारी महतो महासेठ, ओखलढुङ्गाबाट अस्मिता थापा, सोलुखुम्बुबाट कल्पना राई र सुनसरी–३ बाट भगवती चौधरी एमालेका महिला उम्मेदवार रहेका छन् ।
बर्दिया–२ मा एमालेकी विमला विक महिला, दलित र युवामाझ लोकप्रिय नेतृ मानिन्छिन् । स्थानीय मतदाताले उनलाई समाजसेवी, प्रत्यक्ष संवाद गर्ने र क्षेत्रीय मुद्दामा सक्रिय नेता समेत भन्छन् । तर उनको सामना कांग्रेसका किशोरसिंह राठौर, नेकपाका सुरेश पन्थ र रास्वपाका सुशील चौधरीसँग छ ।
यो क्षेत्र थारु बहुल भएकोले जातीय समीकरणले निर्णायक भूमिका खेल्ने देखिन्छ । स्थानीय कृष्णप्रसाद पाण्डेका अनुसार यहाँ केवल पार्टीको समर्थन मात्रै पर्याप्त नहुने भएकोले व्यक्तिगत छवि र समुदायसँगको सम्बन्धले मत आकर्षणमा निर्णायक भूमिका निभाउँछ ।
बागलुङ–२ की मञ्जु शर्मा स्थानीयस्तरमा लोकप्रिय नेतृ हुन् । शिक्षा, स्वास्थ्य र महिला सशक्तिकरणमा देखाएको सक्रियताले उनलाई जनविश्वासमा स्थापित गरेको स्थानीय हिरामणि आचार्य बताउँछन् । उनका प्रतिस्पर्धी कांग्रेसका टेकराज पौडेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ज्ञामनाथ गैरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोम शर्मा हुन् । यस क्षेत्रमा शर्मालाई पार्टीमा आधारित मतमा मात्र निर्भर हुने छुट छैन ।
शर्माले व्यक्तिगत जनसम्पर्क र विश्वासलाई मतमा कसरी रूपान्तरण गर्छिन् त्यसैले सिंहदरबारको यात्रा तय गराउने स्थानीयको मत रहेको छ ।
शर्माको सामाजिक कार्य, महिला समुदाय र युवाहरूसँगको प्रत्यक्ष संवाद निर्णायक सावित हुनसक्ने स्थानीयहरूको सुझाव रहेको छ ।
भगवती न्यौपानेका लागि तनहँ–१ राजनीतिक रूपमा कठिन मानिन्छ । यहाँ गोविन्द भट्टराई र स्वर्णिम वाग्लेजस्ता स्थापित पुरुष नेतासँगको उनको प्रतिस्पर्धा हुँदैछ । स्थानीय देवेन्द्र अधिकारीका अनुसार यो क्षेत्रमा न्यौपानेको जित केवल पार्टी मतमा निर्भर छैन । क्रस–भोट र असन्तुष्ट मत कुन उम्मेदवारतर्फ तानिन्छ भन्नेले नै अन्तिम नतिजा निर्धारण गर्न प्रमुख कारक बन्ने अधिकारीको मत रहेको छ ।
मधेशका चुनौतीपूर्ण क्षेत्रहरूमध्येको पर्सा–२ मा एमाले उम्मेदवार रिमाकुमारी यादवले मधेसकेन्द्रित दल र काँग्रेसको प्रभावसँग जुध्नुपर्ने देखिन्छ । यस क्षेत्रमा कांग्रेसका अजयकुमार चौरासिया, रास्वपाका सुशील कानु र नेकपाका मनोज चौधरीसँग यादवको प्रतिस्पर्धा हुँदैछ ।
बारा–३ मा ज्वालाकुमारी साहको मुख्य चुनौती जातीय समीकरणको सन्तुलन कायम राख्नु हो । यसअघि समेत सांसद र मन्त्री रहेकी साह यस क्षेत्रकी प्रभावशाली उम्मेदवार मानिन्छिन् । साहको बाटोमा कांग्रेसका फरमुल्लाह मन्सुर रहेका छन् । कांग्रेसका सहमहामन्त्रीसमेत रहेका मन्सुर हेभीवेट उम्मेदवार हुन् । मन्सुरबाहेक रास्वपाका अरविन्द साह र नेकपाका भरत साह पनि ज्वालाका लागि अवरोध हुन सक्छन् ।
महोत्तरी–४ मा एमालेको उपस्थिति कमजोर रहेकाले नीलम अधिकारीले धेरै नै जोड गर्नुपर्ने स्थानीय बताउँछन् । अधिकारीको सिंहदरवार यात्रामा अर्की महिला उम्मेदवार रास्वपाकी गौरीकुमारीसहित कांग्रेसका महेन्द्र यादव र नेकपाका भरत साह पनि अवरोध हुन सक्छन् ।
यस्तै, धनुषा–३ मा जुलीकुमारी महतो महासेठको सफलता स्थानीय पहिचान, जातीय सञ्जाल र समुदायमा प्रत्यक्ष पहुँचमा निर्भर रहने विश्लेषण गरिएको छ । यहाँ नेपाली कांग्रेसका हेभीवेट विमलेन्द्र निधि र रास्वपाका मनिष झा पहाड बनेर उभिएका छन् ।
एमालेले लुम्बिनी र मधेसजस्तै पहाडी र हिमाली जिल्ला ओखलढुङ्गामा अस्मिता थापा र सोलुखुम्बमा कल्पना राईका लागि व्यक्ति केन्द्रित प्रचार निर्णायक हुने बुझाइ स्थानीयको रहेको छ । ओखलढुंगामा पार्टीको आधार बलियो भए पनि अन्तिम मत परिणाम उम्मेदवारको व्यक्तिगत छवि, स्थानीय सम्बन्ध र क्षेत्रीय समर्थनमा निर्भर रहने स्थानीय बताउँछन् ।यस क्षेत्रमा थापाका लागि कांग्रेसका कुमार लुइँटेल, नेकपाका अम्बिर गुरुङ र रास्वपाका विश्वराज पोखरेल प्रमुख प्रतिस्पर्धी हुन् ।
सुनसरी–३ मा भगवती चौधरीले महिला मुद्दा उठाई अप्रत्याशित परिणाम निकाल्ने सम्भावना रहेको स्थानीय बताउँछन् ।
सोलुमा कल्पना राई पनि एमालेकी अर्की महिला उम्मेदवार हुन् । पहिलो पटक संघीय संसदको उम्मेदवार बनेकी राईसँग चुनावी यात्रामा उत्रेका अन्य उम्मेदवार पनि उनीजस्तै नयाँ छन् । राईलाई काउन्टर गर्न कांग्रेसले प्रकाशसिंह कार्की र रास्वपाले ऋषिधन राईलाई मैदानमा उतारेको छ ।
सुनसरी– ३ मा भगवती चौधरीले गत निर्वाचनमा पाँच दलीय गठबन्धनका हेभीवेट उम्मेदवार कांग्रेसका विजयकुमार गच्छेदारलाई पराजित गरेकी थिइन् । यसपटक गच्छेदार अघिल्लो पराजयको वदला लिने दाउमा छन् भने चौधरी विजयको निरन्तरताको तयारीमा छिन् । यस क्षेत्रमा चौधरीलाई रास्वपाका अशोक चौधरी र नेकपाका दुर्गेश चौधरीले पनि कडा टक्कर दिने देखिन्छ ।
यो निर्वाचन एमालेका महिला उम्मेदवारहरूका लागि चुनाव व्यक्तिगत जीत या हार मात्र होइन, नेपाली राजनीतिमा महिला नेतृत्वको सम्भावनाको परीक्षासमेत हो।
यदि केही उम्मेदवार सफल भए त्यो केवल पार्टीका लागि होइन, समग्र राजनीतिक परिदृश्यमा महिला सशक्तिकरणका लागि निर्णायक मोड बन्न सक्छ ।