काठमाडौं । ताप्लेजुङमा यस पटक पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा विभिन्न राजनीतिक दल र उम्मेदवारहरू आफ्नो पक्षमा मत बढाउने होडबाजीमा छन् । नयाँ अनुहारदेखि दोहोरिएका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । पार्टीको र व्यक्तिगत एजेण्डा लिएर मतदाताको आँगनमा उम्मेदवारहरू पुगिरहेका छन् ।
‘निर्वाचनमा उम्मेदवारहरू भाषण गर्दै हिँड्छन् । उम्मेदवारहरू मिलेर टेबलमा खुला बहस गरौं । एजेण्डामा दैनिक छलफल गरौं, बहस गरौं, त्यहीँ भोटिङ पनि गरौं । एजेण्डा बहसलाई गाउँ र मतदाताको सम्म पुर्याऔं,’ दश महिनाअघि युवासंघका तत्कालीन अध्यक्ष क्षितिज थेवे एक अन्तर्वार्तामा भन्दै थिए ।
उनै थेवे अहिले ताप्लेजुङमा एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् । उनले एक पोडकास्टमा भनेका थिए, ‘राम्रोलाई जिताऔं र राम्रो एजेण्डा भएका उम्मेदवारले जित्नुपर्छ ।’
ताप्लेजुङमा योगेश भट्टराईले टिकट पाउँदै आएका थिए । यसपटक भने उनले टिकट पाएनन् । जनजाति तथा लिम्बु समुदायको बाहुल्यता रहेको ठाउँमा एमालेले उनै लिम्बुको छोरालाई टिकट दिइसकेको छ ।
केही समयअघि एक टेलिभिजन अन्तर्वार्तामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ताप्लेजुङमा योगेश भट्टराईले जित्ने अवस्था नरहेको बताएका थिए । यसअघि उक्त क्षेत्रबाट भट्टराईले निर्वाचन जित्दै आएका थिए ।
भट्टराईले गत निर्वाचनमा २१ हजार ९४३ मत प्राप्त गरेर विजयी भएका थिए । ताप्लेजुङमा एमालेले समानुपातिकतर्फ १९ हजार ६०४ मत प्राप्त गरेको थियो । विगतमा प्राप्त गरेको मतलाई लिएर ताप्लेजुङमा एमाले पुनः हौसिएको छ ।
एमालेको केन्द्रीय सदस्यसमेत रहेका थेबे अध्यक्ष ओलीको निकट मानिन्छन् । उनी दुई पटक युवासंघको अध्यक्ष भइसकेका छन् । पार्टीका गतिविधिमा पास भएका उनी यो पटक जनताको परीक्षामा पास हुने दाउमा छन् । भट्टराईले २०७४ र २०७९ मा जितेको हुनाले थेबे जित्नैपर्ने बाध्यतामा पनि छन् ।
एमालेलाई पहिचानविरोधी पार्टी भनेर चिनिने भएकाले थेवेले पहिचान पक्षधरलाई आफ्नो पक्षमा पार्न सक्छन् कि सक्दैनन् भन्ने मुख्य विषय रहेको स्थानीय बताउँछन् ।
संगठनको हिसाबले ताप्लेजुङलाई एमालेको उर्वर भूमि मानिन्छ । जित हासिल गर्ने लक्ष्यसहित थेवे यतिबेला चुनावी प्रचार प्रसारमा मस्त छन् । उनले सँगसँगै चुनावी एजेण्डा पनि लिएर हिँडेका छन् ।
तमोर करिडोरको विकास, ग्रामीण सडक सञ्जाल विस्तार, कृषि तथा जडीबुटीको व्यावसायिक उत्पादन, पाथीभरा र कञ्चनजङ्घा क्षेत्रको दिगो पर्यटन विकासलाई थेवेले प्राथमिक एजेन्डा बनाएका छन् ।
साथै जिल्लाबाट वैदेशिक रोजगारीमा जान बाध्य युवालाई स्थानीय स्तरमै अवसर सिर्जना गर्ने उनको प्रतिबद्धता जाहेर गरेका छन् ।
ताप्लेजुङमा विशेष गरी एमालेका थेवे, नेपाली कांग्रेसबाट गजेन्द्रप्रसाद तुम्याङ लिम्बु, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट खेलप्रसाद बुढाक्षेत्रीबीच कडा प्रतिस्पर्धा हुने देखिएको स्थानीय बताउँछन् ।
गत निर्वाचनमा गठबन्धनको तर्फबाट तत्कालीन माओवादीका उम्मेदवार खेलप्रसाद क्षेत्री उठेका थिए । उनले २१ हजार ७३५ मत प्राप्त गरेका थिए । उनै क्षेत्री यसपटक नेकपाको तर्फबाट दोहोरिएका छन् ।
उनी पार्टीको मुख्य एजेण्डासहित चुनावी मैदानमा होमिइसकेका छन् । मतदातासँग भेटघाटमा लागिसकेका उनले प्राकृतिक रूपमा पछाडि परेको जिल्लालाई विकासका पूर्वाधार खडा गरेर अगाडि बढाउने एजेन्डा राखेका छन् ।
ताप्लेजुङ जलस्रोतको धनी भएकाले हाइड्रोको विकासलाई पहिलो प्राथमिकतामा राखेको उम्मेदवार क्षेत्रीले बताए । ‘विविध जातजातिको समिश्रण भएकाले सबैको संस्कृति जोगाउने पहिलो कर्तव्य रहन जान्छ,’ उनले भने, ‘भ्रष्ट्राचार विरोधी अभियानलाई पहिलो प्राथमिकतालाई राखेर काम गर्नेछु । यहाँ विशेष गरेर अलैंची खेती रहेकालाई उत्पादन तथा प्रवर्द्धन गर्नेछु ।’
ताप्लेजुङ धार्मिक पर्यटकीय स्थलको रूपमा प्रसिद्ध रहेको उनले बताए । ‘धार्मिक पर्यटक भित्र्याउने विभिन्न योजनाहरू ल्याएर आम्दानीको स्रोत बढाउने काम गर्नेछु,’ उनले भने ।
कांग्रेस उम्मेदवार लिम्बु यो चुनावमा नेपाली कांग्रेसलाई पुनःस्थापित गर्ने दावी गर्छन् । ‘अगिल्लो चुनावमा गठबन्धनका कारण रुख चिन्ह हराएको थियो । यो चुनावमा हामीले रुखलाई पुनःस्थापित गर्छौं,’ उनले भने ।
यसपटक गठबन्धन नभएकाले कांग्रेसमा राम्रो भोट आउने उनको दावीसमेत छ । तमोर करिडोरको विकास र जलविद्युत आयोजना निर्माणमा सहजीकरण गरेर स्थानीयका लागि रोजगारी सिर्जना गर्ने लिम्बुको मुख्य एजेन्डा हुन् ।
त्यस्तै, श्रम संस्कृति पार्टीको तर्फबाट सन्तोष राई उम्मेदवार छन् । उनी व्यक्तिगत एजेण्डाबिना मतदाताको घरआँगनमा पुगिरहेका छन् । एजेण्डा लिएर गए पनि मतदाताले नपत्याउने भएकाले व्यक्तिगत एजेण्डा नभएको राईको भनाइ छ ।
‘निर्वाचित भएमा मतदाताको घरआँगनमा गएर समस्या सुनेर समाधान गर्नेछु,’ उनले भने ।
पुराना दलले जस्तै हामीजस्ता नयाँ दलले मतदातालाई ढाँट्न नहुने उनको भनाइ छ । ‘श्रम संस्कृतिलाई सबैले अंगाल्नु पर्ने भएकाले हाम्रो एजेण्डा श्रमको महत्त्व बुझाउनु हो,’ उनी भन्छन्
आफूले नजिते पनि श्रम संस्कृति पार्टी किङ मेकर रहेको पनि स्थानीयको भनाइ छ ।
अन्य उम्मेदवारहरू :
अरुन सुब्बा (लेछर्वो) जनता समाजवादी पार्टी, इन्द्र कुमार लिम्बू नेपाल जनमुक्ति पार्टी, ईन्द्रप्रसाद थापा राष्ट्रिय प्रजातन्त्र पार्टी, किर्ती मान मादेन उज्यालो नेपाल पार्टी, नरपति पौडेल नेपाल कम्युनिष्ट पार्टी माओवादी, वीरेन्द्र श्रेष्ठ रास्वपा, मुकसाम लाबुङ, लिम्बु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सन्तबहादुर लिम्बु मंगोल नेशनल अर्गनाइजेशन, सन्तोष राई श्रम संस्कृति पार्टी र जनता समाजवादी पार्टी नेपालबाट सुर्य गुरुङ रहेका छन् ।
निर्वाचन आयोगका अनुसार ताप्लेजुङमा ९० हजार ३२७ मतदाता रहेका छन् । महिला मतदाता ४२ हजार ४२ र ४८ हजार २८५ मतदाता छन् । मतदान स्थल ८० र मतदान केन्द्र १ सय २७ वटा छन् । सामान्य मतदानस्थल २७, संवेदनशील २५ र अति संवेदनशील २८ वटा मतदानस्थल रहेको छ ।