काठमाडौं । वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् ।
गत मंगलबार प्रहरीले ३२ वर्षीय बद्री सिलवाललाई विभिन्न व्यक्तिबाट करिब ६८ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो । उनी चितवनको राप्ती नगरपालिका–२ का बासिन्दा हुन् ।
प्रहरीका अनुसार सिलवालले ह्याप्पी एजुकेशन कन्सल्टेन्सीको खातामार्फत दुई जना विद्यार्थीबाट २१ लाख ७० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । साथै, नाम परिवर्तन गरी अन्य विद्यार्थीहरूबाट समेत १२ लाख ४० हजार रुपैयाँ असुल गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
त्यसैगरी, चितवनमा ह्याप्पी एजुकेशन कन्सल्टेन्सी सञ्चालन गर्दै चार जनालाई सर्बियामा कामदार भिसामा पठाइदिने प्रलोभन देखाई २१ लाख ९० हजार ५ सय रुपैयाँ ठगी गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।