जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जेनजी आन्दोलनको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद पुनः २५ दिन थप गर्ने भएको छ । 

सोमवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो पटक सो आयोगको म्याद थप गर्ने निर्णय गरेको हो । 

सो आयोगको दोस्रो पटक थप गरिएको म्याद माघ २८ गते बुधवार सकिँदैछ । सो आयोगको म्याद पुनः थप गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

उनले भने, ‘नेपाल सरकार मन्त्रिपरिषदको २०८२ असोज ५ गतेको निर्णय अनुसार भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय गरियो ।’

सरकारले गत असोज ५ गते जेनजी आन्दोलनको क्रममा भएको भौतिक तथा मानवीय क्षतिको घटनाको छानविन गर्न विशेष अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । 

३ महिनाको कार्यादेशसहित गठित सो आयोगले आफ्नो काम पूरा गर्न नसकेपछि पुस ८ गते बसेको मन्त्रिपरिषद बैठकले एक महिनाको लागि आयोगको म्याद थप गरेको थियो । 

आयोगले आफ्नो काम पूरा गर्न नसकेपछि माघ ८ गते बसेको मन्त्रिपरिषद बैठकले पुन २० दिन आयोगको म्याद थप गरेको थियो । तर दोस्रो पटक थपिएको समयावधि भित्र पनि आयोगले आफ्नो प्रतिवेदन बुझाउन नसकेपछि पुन तेस्रो पटक २५ दिन सरकारले म्याद थप गरेको हो ।

त्यस्तै, मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्षको आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने हुन्छ ।

त्यसैगरी, बैठकले राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश पनि स्वीकृत गरेको छ । 

Share News