चुनावी मैदानमा जित खोजिरहेका महिला नेतृत्व

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनमा मुख्य राजनीतिक दलहरूबाट र स्वतन्त्र गरेर ३८८ महिला निर्वाचनको मैदानमा उत्रिएका छन् । दलहरूमा सवैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ जना महिलालाई प्रत्यक्षतर्फ मैदानमा उतारेको छ । नेपाली कांग्रेसले ११, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले १०–१० महिला उम्मेदवारलाई निर्वाचनको प्रतिस्पर्धामा उतारेका छन् । 

त्यसैगरी, ६० जना महिलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) ले ८ जना महिलालाई मैदानमा ल्याउँदा तराईकेन्द्रित मानिएको जनता समाजवादी पार्टी (जसपा) ले पनि ८ जना महिलालाई नै उम्मेदवार बनाएको छ ।

कांग्रेसले सहमहामन्त्रीसमेत रहेकी महालक्ष्मी उपाध्याय डिनालाई मकवानपुर‑१ बाट मैदानमा उतारेको छ । यस्तै, सरिता प्रसाईं झापा‑२, मन्धरा चिमरिया झापा‑५ बाट प्रतिस्पर्धामा रहेका छन् । 

चन्द्रकलाकुमारी यादवले सिराहा‑४ बाट कांग्रेसको प्रतिनिधित्व गर्दै प्रतिनिधि सभामा पुग्ने अपेक्षा गर्दा किरण यादव     महोत्तरी‑२ बाट मैदानमा रहेकी छन् । सुशीला थिङ सिन्धुली‑२ र सपना राजभण्डारी काठमाडौं‑८ बाट निर्वाचनको महायुद्घमा रहेका छन् । नानु बस्तोला    काठमाडौं‑९, मीनाकुमारी खरेल    चितवन‑२ कुसुमदेवी थापामगर रुकुम–पूर्व र बास्ना थापा दैलेखबाट कांग्रेसको निर्वाचन प्रतिक वोकेर सँसद भवनको यात्रा तय गर्ने अपेक्षमा छन्।

एमालेले प्रत्यक्ष निर्वाचनमा १० महिला उम्मेदवार मैदानमा उतारेको छ । एमालेको तर्फबाट बर्दिया–२ मा विमला विक, बागलुङ–२ मा मञ्जु शर्मा र तनहुँ–१ मा भगवती न्यौपाने मैदानमा छन् । यस्तै, पर्सा–२ बाट रिमाकुमारी यादव, बारा–३ बाट ज्वालाकुमारी साह र महोत्तरी–४ बाट नीलम अधिकारी प्रतिस्पर्धामा छन् । धनुषा–३ बाट जुलीकुमारी महतो महासेठ, ओखलढुङ्गा बाट अस्मिता थापा, सोलुखुम्बु बाट कल्पना राई र सुनसरी–३ बाट भगवती चौधरी एमालेका महिला उम्मेदवार रहेका छन् ।

नेकपाबाट बीना मगर कञ्चनपुर –१, सिन्धु जलेसा नवलपरासी पश्चिम –१ र यशोदा सुवेदी गुरुङ मनाङबाट पार्टीको प्रतिनिधित्व गरिरहेका छन् । रेनु दाहाल चितवन–३, रूपा महर्जन काठमाडौँ–१०, मेनका भण्डारी काठमाडौं–१ बाट मैदानमा रहेका छन् । रुवीकुमारी कर्ण    सप्तरी–४, सरिता खड्का थापा सङ्खुवासभा–१     र धर्मशिला चापागाइ झापा–२     मैदानमा रहेका छन् ।

त्यस्तै, रामकुमारी चौधरी    सुनसरी–२, पुनम देवी रौतहट–३ र बसुन्धरा हुमागाईँ काभ्रेपलाञ्चोक–२ बाट मैदानमा रहेका छन् ।

रास्वपाले १६ महिलाहरूलाई मैदानमा पठाएको छ । निशा डाँगीलाई झापा–१ बाट रास्वपाले प्रत्यक्ष टिकट दिएको छ । त्यस्तै, इन्दिरा रानामगर झापा–२, आशा झा मोरङ–५, रुबिना आचार्य मोरङ–६, सरिन तामाङ सुनसरी–१ आशिका तामाङ धादिङ–१, रञ्जु दर्शना काठमाडौ–१, तोसिमा कार्की ललितपुर–३ र सोविता गौतम     चितवन–३ मा उम्मेदवार रहेका छन् ।

प्रतिनिधि सभा निर्वाचनको अभियानमा महिला उम्मेदवारहरूले मैदानमा सक्रिय हुँदै माहोल सिर्जना गरिरहेका छन् । बर्दिया–२ की विमला विक, बागलुङ–२ की मञ्जु शर्मा, तनहुँ–१ की भगवती न्यौपाने लगायतका नेतृहरू अहिले मैदानमै छन् । 

गाउँ–गाउँ, सडक–सडक, बजार–बजार पुगेर मतदातासँग संवाद गर्दै स्थानीय विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफ्नो एजेन्डा प्रस्तुत गरिरहेकाले अभियानमा उनीहरूको जोश र ऊर्जा देखेर स्थानीय मतदाताले सकारात्मक प्रतिक्रिया दिएको बर्दियाकी विकले बताइन् ।

बर्दिया–२ मा विकले आफ्नो क्षेत्रका महिला, युवाहरू र दलित समुदायसँग भेटघाट गर्दै सामाजिक न्याय र समानतामाथि जोड दिइरहेकी छन् ।

बागलुङ–२ की मञ्जु शर्माले स्थानीय सडक, विद्यालय र स्वास्थ्य चौकीहरूको निरीक्षण गर्दै आफूले अघि सारेको विकास योजना बुझाइरहेकी छन् । उनले महिला सशक्तिकरण र युवाहरूको रोजगारीमा जोड दिँदै मतदाताको मन जित्ने प्रयास गरिरहेको बताएकी छन् ।

बीना मगर कञ्चनपुर–१ र रेणु दाहाल चितवन–३ नेकपाका उम्मेदवार हुन् । मगर आफ्नो निर्वाचन क्षेत्रमा स्थानीय विकास र आधारभूत सेवामा सुधार गर्ने एजेन्डा अघि सार्दैछिन् । उनका अनुसार सडक, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता प्राथमिक सेवामा निरन्तरता र सुधार आवश्यक छ । यसैगरी, उनी समावेशी विकास र समुदायको सुरक्षामा पनि जोड दिन चाहन्छिन् । यद्यपि उनको विस्तृत चुनावी घोषणापत्र सार्वजनिक भएको छैन ।

दाहालले चितवन–३ मा आफ्नो पूर्वमेयरको अनुभव मतदातासँग प्रस्तुत गर्दैछिन् । भरतपुरमा आफ्नो कार्यकालको समयमा उनले सम्पन्न गरेका परियोजनाहरू र स्थानीय पूर्वाधार सुधारलाई उनले मतदातामा विश्वास बढाउने आधार बनाइरहेकी छिन् । उनले स्थानीय सेवाहरू, सहरी सुविधा र समृद्धि विस्तारमा विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

मकवानपुर–१ मा महालक्ष्मी उपाध्याय डिनाले सडक, खानेपानी, विद्युत र सञ्चार जस्ता आधारभूत सेवामा सुधारका साथै महिला र युवाको सशक्तिकरण र समावेशी विकासमा जोड दिइरहेकी छन्।् ।

झापा‑२ की सरिता प्रसाईंले कृषि उत्पादन वृद्धि, सिँचाइ सुविधा, स्थानीय बजार सुधार र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच विस्तारमा ध्यान केन्द्रित गरेको बताएकी छन् । पूर्वप्रधानमन्त्री ओलीसँग भिडिरहेकी झापा‑५ की मन्धरा चिमरिया पनि कृषि विकास, पूर्वाधार सुधार, शिक्षा र स्वास्थ्य सेवाका साथै सामाजिक समावेशीतामा जोड दिँदै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी छन् ।

निशा डाँगीले आफ्नो चुनावी अभियानमा युवा नेतृत्व, सामाजिक परिवर्तन र नवप्रवर्तनमा जोड दिइरहेकी छन् । उनी मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारी सुधारका मुद्दा उठाउँदै निर्वाचनको माहोल बनाउँदै छन् । उनका योजनाले झापाको युवा मतदातालाई आकर्षित गर्ने उनको दाबी रहेको छ ।

इन्दिरा रानामगर पूर्वउपसभामुखसमेत रहिसकेकी छन् । उनले आफ्नो अनुभव र नेतृत्व क्षमतामा जोड दिँदै चुनावी मैदानमा सक्रियता जनाएकी छन् । उनका एजेन्डामा महिला अधिकार, सामाजिक न्याय, समावेशी विकास र सुशासन मुख्य प्राथमिकतामा छन् । पूर्वसांसदको अनुभवले उनलाई मतदान क्षेत्रमा विश्वासयोग्य उम्मेदवारको रूपमा प्रस्तुत गरेको छ ।

विश्लेषकहरूका अनुसार महिला उम्मेदवारहरूको सक्रियता र सकारात्मक अभियान शैलीले निर्वाचन क्षेत्रमा उत्साह बढाएको छ । यो निर्वाचन महिला नेतृत्वको प्रतिनिधित्व र स्थानीय विकास प्राथमिकतामा जनताले कत्तिको विश्वास गर्छन् भन्ने परीक्षण पनि बन्ने उनीहरूको बुझाइ छ । 

सम्पूर्ण महिला उम्मेदवारहरूले प्रत्यक्ष संवाद र स्थानीय आवश्यकताअनुसार योजनालाई अभियानको मुख्य रणनीति बनाएका छन् । यसले निर्वाचनको माहोल सिर्जना गर्नुका साथै महिला नेतृत्वको सशक्तिकरणलाई पनि स्पष्ट रुपमा देखाइरहेको छ ।

विश्लेषक पर्शुराम घिमिरे पार्टीको संगठनात्मक बल, स्थानीय परिचित नेटवर्क र सामाजिक पहिचान भएका उम्मेदवारहरूले भोट संकलनमा तुलनात्मक लाभ लिन सक्ने बताउँछन् । ‘महिला उम्मेदवारहरूले महिला र युवा मतदातालाई लक्षित गरेर प्रचार अभियान सञ्चालन गरिरहेका छन् । जसले मतदातासँग प्रत्यक्ष सम्बन्ध निर्माण गर्नेछ,’ घिमिरेले भने ।

तर धेरै उम्मेदवार उच्च प्रतिस्पर्धात्मक क्षेत्रमा रहेका कारण जातीय, सामाजिक समीकरण र विपक्षी दलको बलियो उपस्थितिले परिणाममा ठूलो प्रभाव पार्ने उनको भनाइ छ । 

विश्लेषक घिमिरे यो निर्वाचन महिला नेतृत्वको प्रतिनिधित्व र स्थानीय आवश्यकतामा मतदाताको धारणा परीक्षण गर्ने मौका पनि हुने जनाउँछन् ।

Share News