मोरङ–१ मा अनुभव, प्रशासन र परिवर्तनको त्रिकोणात्मक भीडन्त

काठमाडौं । एकातिर संसदमा किसानका मुद्दा बुलन्द पार्दै आएका अनुभवी नेता, अर्कोतिर स्थानीय सरकार हाँकेको प्रशासनिक अनुभव बोकेका उम्मेदवार र ‘अब पुराना होइन, नयाँ अनुहार चाहिन्छ’ भन्ने नारा बोकेर मैदानमा उत्रिएका चुनौतीकर्ता । मोरङ–१ मा यसपटकको निर्वाचन यिनै तीन धारमा केन्द्रित हुने देखिएको छ ।

मतदाताले अनुभवलाई रोज्ने कि परिवर्तनको जोखिम उठाउने भन्ने प्रश्नले मोरङ–१ को चुनावी माहोल थप रोचक बनाएको छ ।

‘जीटुजी गरेर होस् कि जसरी भए पनि मल ल्याऔं । मल कहिलेबाट किसानले पाउँछन् ? किसानको अवस्था त खस्किँदो अवस्थामा गयो । किसानले रत्नपार्कमा आएर हलो बोकेर आन्दोलन गर्ने दिन नआओस् । म किसानको आवाज बोलिरहेको छु,’ संसदमा किसानको पक्षमा आवाज उठाउँदै पूर्वसांसद घनश्याम खतिवडाले भनेका थिए ।

उनै किसानको आवाज उठाउने सांसद खतिवडा मोरङ– १ मा उम्मेदवार बनेका छन् । व्यक्तिगत रूपमा उनी सामाजिक र राजनीतिक चेतनाको संवाहक मानिन्छन् । पूर्वशिक्षकसमेत रहेका उनीसँग विभिन्न सामाजिक संस्थामा काम गरेको अनुभव छ ।

संसदमा हुँदा उनले किसान र तल्लो तहका मानिस तथा आमनागरिकको समस्या उठान गर्थे । तिनै खतिवडा कोशी प्रदेश एमालेका अध्यक्षसमेत हुन् । ओली निकट खतिवडा हाल मोरङ १ को चुनावी मैदानमा छन् । 

२०७० को प्रतिनिधिसभा निर्वाचनमा खतिवडा ३७ हजार ५२४ मत प्राप्त गरी विजयी भएका थिए । मोरङको उत्तरी भेगमा पर्ने मोरङ– १ लाई एमालेको बलियो आधार भएको क्षेत्र मानिने गरिन्छ ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने खतिवडा नेपाली कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बुसँग पराजित भए । 

फागुन २१ गते हुने निर्वाचनमा भने उनी गत निर्वाचनमा बेहोर्नु परेको हारलाई विजयमा बदल्ने दाउमा छन् । उनी लेटाङ नगरपालिका निवासी हुन् । शिक्षक, भूमिगत राजनीतिक कार्यकर्ता, तत्कालीन स्थानीय निकायको प्रतिनिधि हुँदै सामुदायिक वन र सहकारी अभियानमा समेत खतिवडाले काम गरेका छन् ।

जनमुखी काम गरेर अगाडि बढ्ने एजेण्डा बोकेको खतिवडा बताउँछन् । ‘स्थानीय विकास गर्नका लागि मजबुत नीति बनाउन पहल गर्नेछु,’ खतिवडाले भने, ‘जनतामुखी काम गर्नुपर्ने छ । सुशासनको पक्षमा वकालत गर्नु नै मेरो मुख्य एजेण्डा हो ।’

स्थानीय मतदाताको जीवनलाई सहज बनाउन आफूले काम गर्ने खतिवडाको भनाइ छ । मोरङ १ मा परिवर्तनको ठूलो हावा नचलेको दाबी उनको छ । ‘विगतको चुनावमा भन्दा यसपटक थोरै चुनौती ठानेको छु,’ उनले भने, ‘प्रतिस्पर्र्धी उम्मेदवारलाई मैले कमजोर ठानेको छैन ।’

कुनै पनि उम्मेदवार वा दललाई गाली नगरी मतदाताको घरमा पुगिरहेको उनको भनाइ छ । गाली र घृणा गरेर मलाई मत बटुल्ने चाहना नभएको उल्लेख गर्दै उनले राजनीतिलाई पेशा नभई सेवा बनाएकाले मतदाताको मत प्राप्त गर्ने बताए ।

अगिल्लो निर्वाचनमा २७ हजार २९७ मत प्राप्त गरी विजयी भएका नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले भने यसपटक टिकट पाएनन् । विशेष महाधिवेशनको पक्षमा नखुल्दा उनले टिकट नपाएका हुन् । उनी युवा तथा खेलकुदमन्त्रीसमेत भएका थिए ।

कांग्रेसबाट मोरङ– १ मा टिकट खड्ग फागोले पाएका छन् । उनी उर्लाबारी नगरपालिकाको पूर्वमेयरसमेत हुन् । २०७९ को स्थानीय निर्वाचनमा उनी ११ हजार ६३२ मत प्राप्त गरी उर्लाबारी नगरको मेयरमा निर्वाचित भएका थिए। 

उनी नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्रीसमेत हुन् । फागो मोरङ तथा कोशी प्रदेशमा हक्की र निडर स्वभावका राजनीतिज्ञको रूपमा परिचित छन् । स्थानीय सरकार सञ्चालनको प्रत्यक्ष अनुभव, संकट व्यवस्थापनको व्यवहारिक अभ्यास र कानुनी प्रशासनिक प्रक्रियासँगको निकट संलग्नताले आफूलाई प्रतिनिधिसभाका लागि उपयुक्त बनाएको फागो बताउँछन् ।

उनी सडक, कृषि, सिँचाइ र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताको एजेण्डा बोकेर मतदाताको घर आँगनमा पुगिरहेका छन् । ‘स्थलगत रूपमा देखिएका समस्याहरूलाई टिपोग गरेर मतदातासँग छलफल गर्छु,’ फागोले भने, ‘निर्वाचित भएको खण्डमा बजेट भाषणअघि मतदातासँग छलफल गरेर समस्याको समाधान गर्न अगाडि बढ्नेछु ।’

आफ्नो निर्वाचन क्षेत्र तराईदेखि पहाडसम्म पर्ने भएकाले पहाडमा उत्पादन भएका वस्तुहरू बजारीकरण गर्नलाई पहल गर्ने उनी बताउँछन् । मतदाताले कांग्रेसको उम्मेदवारलाई मत दिएर परिवर्तन गर्न खोजेको उनले बताए । 

‘अन्य दलका मतदाताले मलाई दिन्छन् भने त्यो मत परिवर्तनको संकेत हो ।  प्रतिस्पर्धीको रूपमा मैले कुनै पनि उम्मेदवारलाई ठानेको छैन,’ फागोले भने । 

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट यज्ञमणि न्यौपाने मैदानमा छन् । उनी सभापति रवि लामिछानेको विशेष अधिवक्ता पनि हुन् । पार्टीभित्र लामिछाने निकट भएकाले उनले मोरङ १ मा टिकट प्राप्त गरेका हुन् ।

उनी यस अगाडि  १ नम्बर क्षेत्रमा एमाले र कांग्रेसले पाउँदै आएको मत आफूले पाउने बताउँछन् । पुराना दलबाट निराश र आजित भएका मतदाताहरूले न्यौपानेलाई भोट हाल्न सक्ने स्थानीय बताउँछन् ।

न्यौपाने वैदेशिक रोजगारमा जाने नेपालीको संख्या घटाउन स्वदेशमै नयाँ–नयाँ कार्यक्रमहरू ल्याउने एजेन्डासहित घरदैलोमा व्यस्त छन् । त्यस्तैगरी, खोला किनारामा अव्यवस्थित बसोबास गरिरहेकालाई उचित व्यवस्थापन गरी लालपुर्जा दिने कानुन बनाउने वाचा पनि उनले गरेका छन् ।

त्यसैगरी, उनले खानेपानी र सडकका मुद्दालाई पनि आफ्नो एजेन्डा बनाएका छन् । त्यस्तै, चिस्यान केन्द्रको विकास गर्ने पनि एजेन्डा बनाएका छन् ।

अन्य उम्मेदवारहरू 

खतिवडा, फागो र न्यौपानेबाहेक नेपाली कम्युनिस्ट पार्टीका कुलप्रसाद साम्बा, राप्रपाबाट पूर्णबहादुर वाइबा तामाङ, मंगल नेशनल अर्गनाइजेशनबाट सुरज लिम्बु, जनमुक्ति पार्टीबाट फिवराज लिम्बु, राष्ट्रिय परिवर्तन पार्टीबाट दुर्गा कुमारी तामाङ,  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिलकुमारी लावती, श्रम संस्कृति पार्टीबाट शान्ति पाख्रिन लामा, मितेरी पार्टी नेपालबाट डिल्लीराम लिम्बु, नेपाल कम्युनिष्ट पार्टी ( माओवादी) बाट डिल्ली राम नेपाली उम्मेदवार रहेका छन् ।

त्यस्तै ईश्वर वाग्ले, पशुपति घिमिरे, प्रेम बर्देवा, मिलन भण्डारी र याम प्रसाद दाहालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार मोरङ १ मा १ लाख २८ हजार ५४५ मतदाता रहेका छन् । महिला ६५ हजार ५३ र पुरुष ६३ हजार ४९२ मतदाता छन् । मतदान स्थल ६० र मतदान केन्द्र १५१ वटा छन् ।

१ नम्बर क्षेत्रमा ४ वटा स्थानीय तह छन् । उर्लाबारी नगरपालिका, लेटाङ नगरपालिका, केरा गाउँपालिका र मिक्लाजुङ गाउँपालिका रहेका छन् ।

Share News