काठमाडौं । सिद्धार्थ फर्मास्युटिकल्स लिमिटेडले आईपीओ गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
कम्पनीले आईपीओ निष्कासका लागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।
सम्झौतापत्रमा सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडका तर्फबाट अध्यक्ष डा। ऋषिराम शर्माले तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट चिफ बिजनेस अफिसर रिकेश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
विसं २०४३ माघ ११ गते स्थापना भएको सिद्धार्थ फर्मास्युटिकल्सले २०४६ सालदेखि औपचारिक उत्पादन सुरु गरेको थियो । कम्पनीले गुणस्तरीय, सुरक्षित तथा किफायती औषधि उत्पादनमार्फत नेपाली स्वास्थ्य क्षेत्रमा योगदान दिँदै आएको छ । कम्पनीले डब्ल्यूएचओ-जीएमपी प्रमाणपत्र प्राप्त गरेको जनाएको छ ।
कम्पनीको मूल लक्ष्य ‘कुनै पनि बिरामी उच्च गुणस्तरीय र किफायती औषधीबाट वञ्चित नहोस्’ भन्ने रहेको छ।
सिद्धार्थ फर्मास्युटिकल्सको अत्याधुनिक उत्पादन प्लान्ट रूपन्देही जिल्लाको तिलोत्तमा–१५ मा अवस्थित छ ।
प्लान्टको भौतिक संरचना तथा उत्पादन प्रक्रिया डब्ल्यूएचओ-जीएमपी मापदण्ड अनुरूप रहेको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार उत्पादन इकाइहरूमा अत्याधुनिक तथा विश्वस्तरीय उपकरण प्रयोग गरिँदै आएको छ ।