काठमाडौंबाट सुर्खेत जाँदै गरेको बसमा आगलागी

काठमाडौं । काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बसमा आगलागी भएको छ । बिहीबार बिहान कपिलवस्तुको तौलिहवा सडकखण्डमा गुडिरहेको अवस्थामा ४ ना ७ ख ६०४८ नम्बरको बसमा अचानक आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी रिपेन्द्रकुमार सिंहका अनुसार बसको टायर पड्किएपछि आगलागी भएको हो । घटनामा कुनै मानवीय क्षति भएको छैन । बसमा ४१ जना यात्रु सवार थिए ।

आगलागीका कारण यात्रुहरूको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । बस चालक नरेन्द्र विश्वकर्माले बस चलाइरहेका थिए ।

बिहान करिब ५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको र यात्रुहरूलाई वैकल्पिक व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको सिंहले जानकारी दिए ।  

Share News