सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ : सचिव शर्मा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा सडक सुरक्षा प्रमुख चुनौतीका रूपमा उभिएको बताएका छन् । 

उपत्यकाका ट्राफिक प्रहरी कार्यालयले बिहीबार आयोजना गरेको सडक सुरक्षा कार्यशालामा उनले सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको बताए । यातायातको माध्यमबाट जीवन सहज बनाउने र विकासको गतिलाई अगाडि बढाउने पूर्वसर्त सडक यातायात भए पनि सडक सुरक्षाको विषय निकै संवेदनशील बन्दै गएको उनको भनाइ छ । 
विशेष गरी एसियाली तथा विकासोन्मुख देशमा ट्राफिक व्यवस्थापन र सुरक्षाको समस्या गम्भीर रहेको उनले बताए । सचिव शर्माले ट्राफिक सुरक्षा कुनै एक पक्षको प्रयासले मात्र सम्भव नहुने स्पष्ट पार्दै रोड सेफ्टी काउन्सिल गठनको आवश्यकता रहेको बताए । 

उनले धेरै पहिलेदेखि रोड सेफ्टी काउन्सिल गठन गर्न प्रयास गरिरहेको भए पनि सफल हुन नसकेको बताए । प्रधानमन्त्री वा मन्त्रीको नेतृत्वमा काउन्सिल गठन गर्नको लागि अर्थ मन्त्रालयलाई पटक–पटक आग्रह गरेको भए पनि अहिलेसम्म गठन हुन नसकेको उनको भनाइ छ । 

उनले मन्त्रालयले गर्नुपर्ने नीतिगत सुधार गरिरहेको पनि जानकारी दिए । ट्रान्सपोर्ट नीतिको मस्यौदा तयार गरिसकेको उल्लेख गर्दै उनले रोड सेफ्टी एक्ट, रोड सेफ्टी रेगुलेसन र रोड सेफ्टी एक्सन प्लानको मस्यौदा पनि तयार अवस्थामा रहेको जानकारी दिए । तर, कार्यान्वयन चरणमा समस्या रहेको उनले स्वीकार गरे ।

उनले भने, 'ट्राफिक सुरक्षाको विषय असाध्यै एउटा चुनौती बनेको छ । हामीले यातयातको माध्यामद्वारा जीवनालाई सहज बनाउने र विकासको गतिलाई अगाडी बढाउने पूर्वसर्तको रूपमा सडक यातयात भएता पनि सडक सुरक्षाको विषयचाहिँ निकै संवेदनशील हुँदै गइरहेको अवस्था छ । त्यसमा पनि एसियाका देश र अविकसित देशमा ट्राफिक व्यवस्थापन र सुरक्षाको समस्या रहेको छ । ट्राफिक सुरक्षा एउटा पक्षले मात्रै गरेर हुँदैन ।'

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले तीन तहका सरकारबीच कानूनी असमानताले सार्वजनिक यातायात क्षेत्र प्रभावित भएको बताए । उनका अनुसार संघीय सरकारले बनाएको कानुनभन्दा फरकफरक कानुन तल्लो तहका सरकारले बनाउँदा सार्वजनिक यातायात क्षेत्र ठूलो चपेटामा परेको छ । 

उनले भने, 'तीन तहका सरकार छन्, तीन तहका नियम, तीन तहको कानुन । पहिलो कानून बनाउने त संघीय सरकारले हो । संघीय सरकारको कानुनभन्दा तल्लो तहका सरकारले कानुन फरकफरक बनाउने कारण नेपालको सार्वजानिक यातयात क्षेत्र ठूलो चपेटामा परेको छ ।' 

काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले तीव्र सहरीकरण, जनघनत्व वृद्धि र सवारी साधनको निरन्तर विस्तारले यातायात व्यवस्थापन प्रणालीमा असाधारण दबाब सिर्जना गरेको बताए । सडक पूर्वाधार विस्तार, सार्वजनिक यातायात सुदृढीकरण तथा प्रविधिमैत्री ट्राफिक व्यवस्थापन सवारी वृद्धिदरसँग समानान्तर हुन नसक्दा ट्राफिक जाम, सवारी दुर्घटना, प्रदूषण, अव्यवस्थित पार्किङ तथा अनुशासनहीन सवारी सञ्चालन जस्ता समस्या बढ्दै गएको उनको भनाइ थियो ।   

Share News