नेपालीरिका होटेलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज

काठमाडौं । नेपालीरिका होटेल लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

पूर्वी नेपालको मोरङ प्रदेशस्थित विराटचोकमा अवस्थित नेपालीरिका होटेल लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५० लाख कित्ता सेयर निष्कासन गरी कुल ५० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरेको छ ।

उक्त सेयर निष्कासनका लागि नेपालीरिका होटेल लिमिटेडका तर्फबाट अध्यक्ष भोलेश्वर दुलाल र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच माघ २९ गते नयाँ बानेश्वरस्थित क्यापिटलको कार्यालयमा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

कम्पनीका अनुसार यो कदमले कम्पनीको विकास, पारदर्शिता अभिवृद्धि तथा नेपालको आतिथ्य उद्योग र पर्यटन क्षेत्रको विस्तारमा योगदान पुर्याउने विश्वास लिइएको छ । विशेषगरी मोरङ प्रदेशमा लगानीका अवसरहरू विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको जनाएको छ ।   

Share News