काठमाडौं । ‘सस्तो मूल्यमा सुन दिन्छु’ भनेर ६० लाख रुपैया लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र झापा प्रहरीको समन्वयमा बिर्तामोडबाट ४१ वर्षीय रमेश बुढा मगर र ३४ वर्षीय दीपक राईलाई पक्राउ गरेको हो ।
माघ १४ गते काठमाडौं महानगरपालिका १४ को घ्याङखोलामा सस्तो मूल्यमा सुन दिन्छु भनेर ८(९ जनाको समूहले कुटपिट तथा लुटपाट गरेर फरार भएका थिए ।
कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार उनीहरुको साथबाट विभिन्न कम्पनीको ६ थान मोबाइल र २ वटा मोटरसाइकल बरामद गरेको छ ।
कार्यालयका अनुसार मगर खैरो हिरोइन ६५ ग्राम सहित लागुऔषध नियन्त्रण ब्युरोबाट पक्राउ परी लागुऔषध मुद्दामा केन्द्रीय कारागारमा कैद भुक्तान गरिसकेका हुन् ।
राई चोरी मुद्दामा जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंबाट पक्राउ परी २४ दिन हिरासतमा बसेर धरौटीमा छुटेका हुन् ।
सुर्खेत चिङ्गार गाउँपालिका ५ मगर काठमाण्डौं तिलङटार बस्ने गरेका थिए । त्यसैगरी, इलाम सुर्यदय नगरपालिका १४ का राई काठमाडौं टोखा नगरपालिका ६ मा बस्दै आएका थिए ।