जेनजी आन्दोलनमा भरिएको थियो ल्यान्डफिल साइट, पोखरामा २ सातापछि उठ्यो फोहोर

काठमाडौं । पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहोर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक छेउ र चोकहरूमा थुप्रिएका फोहोर लामो समयदेखि नउठ्दा पोखरा दुर्गन्धित बनेको थियो ।

पोखरा-३२ लामेआहालमा रहेको अस्थायी फोहोर व्यवस्थापन केन्द्र भरिएपछि फोहोर उठ्न सकेको थिएन । फोहोर व्यवस्थापनका लागि महानगरले विभिन्न स्थानमा जमिन खोजी गरे पनि सफल भएको थिएन । सडक किनार, चोक, बिजुलीका पोलको वरिपरि मात्र नभई मुख्य सडकमै फोहोर थुप्रो लागेपछि बजारमा दुर्गन्धसमेत फैलिन थालेको छ ।

महानगर प्रमुख धनराज आचार्यले बिहीबार साँझदेखि क्रमशः फोहोर सङ्कलन गर्ने गाडी सञ्चालनमा आएको बताए । उनले सार्वजनिक बाटो तथा खुला स्थानमा फोहोर विसर्जन नगर्न समेत आग्रह गरे । महानगरले फोहोर उठाउन सुरु गरे पनि कहाँ लगेर व्यवस्थापन गर्ने भन्ने खुलाएको छैनन् ।

‘पोखरा महानगरपालिका तत्कालीन, अल्पकालीन, अस्थायी तथा स्थायी रूपमा फोहोर व्यवस्थापनको काममा सक्रिय रूपमा लागिरहेको र तत्कालका लागि केही प्रबन्ध गरेका छौँ । गाडी नआउँदासम्म कृपया धैर्यतापूर्वक पर्खनुहुन अनुरोध गरेका छौँ, धेरै दिनदेखि सङ्कलन भएका फोहोर भएकाले सुरुका एक/दुई दिन केही बढी चाप हुनसक्छ तर सार्वजनिक बाटो तथा खुला स्थानमा फोहोर विसर्जन नगर्नुहोस् भन्ने अपिल नगरवासीसँग गरेका छौँ,’ महानगर प्रमुख आचार्यले भने ।

प्रमुख आचार्यले शनिबारसम्म हालसम्म जम्मा भएको सम्पूर्ण फोहोरमैला उठाइ सकिने उल्लेख गरे । महानगरले जथाभावी सार्वजनिक स्थानमा फोहोर फालिएको पाइएमा अनुगमन टोलीले स्थलमै कारबाही गर्ने समेत जनाएको छ । 

पोखरामा जेनजी आन्दोलनका क्रममा भारी मात्रामा फोहोर निक्लेपछि लामेआहालको ल्यान्डफिल साइट नै भरिएकाले फोहोर व्यवस्थापनमा समस्या निम्तिएको हो । महानगरले यसबीचमा धेरै स्थानमा फोहोर व्यवस्थापनको स्थान खोजी गरे पनि स्थानीयको विरोधका कारण सफल हुनसकेको थिएन ।

महानगरले फोहोर व्यवस्थापनमा सहयोग गर्न बुधबार सरोकारवालाहरूको सर्वदलीय र सर्वपक्षीय बैठक आह्वान गरेको थियो । बैठकमा ७२ घण्टाभित्र पोखरा महानगरको फोहोर उठाउने र दलहरूले सहयोग गर्ने सहमति भएको थियो । महानगरले पोखरा-३३ मा फोहोर प्रशोधन केन्द्र निर्माण गरी फोहोरको स्थायी समाधानको प्रक्रिया अघि बढाएको छ । तर स्थानीयवासी विरोधमा उत्रिएका छन् । स्थानीयको विरोधका कारण प्रशोधन केन्द्र निर्माणको अन्य काम अघि बढ्न सकेको छैन । महानगरले समन्वय र सहमति बेगर निजी कम्पनी छनोट गरी फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् ।

Share News