काठमाडौं । बंगलादेशमा सम्पन्न आम निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहुमत हासिल गरेको छ ।
बीबीसी बंग्ला सर्भिसका अनुसार बीएनपी नेतृत्वको गठबन्धनले अहिलेसम्म १७२ सिटमा विजय हासिल गरेको छ।
त्यस्तै, जमात-ए-इस्लामी नेतृत्वको गठबन्धनले ५५ सिट जितेको छ भने अन्य दलहरूले १२ सिट जितेका छन् ।
मतगणना अझै जारी रहेको छ ।
३५० सदस्यीय संसदमा ३०० सदस्य प्रत्यक्ष निर्वाचित हुने व्यवस्था रहेको छ भने ५० सिट महिलाका लागि आरक्षित छन् । सांसदहरू बहुलताका आधारमा चयन हुनेछन् र संसद्को कार्यकाल पाँच वर्षको हुनेछ।
एक उम्मेदवारको निधनपछि एउटा निर्वाचन क्षेत्रमा मतदान स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ ।
सन् २०२४ को जेनजी नेतृत्वको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेपछि बंगलादेशमा पहिलो पटक संसदीय निर्वाचन भएको हो ।
नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले निर्वाचन गराएको हो ।
निर्वाचनमा करिब ५०० अन्तर्राष्ट्रिय पर्यवेक्षक र विदेशी पत्रकार उपस्थित रहेको जनाइएको छ, जसमा युरोपेली सङ्घ (इयु) र राष्ट्रमण्डलका प्रतिनिधिहरू पनि समावेश छन् ।