बंगलादेशमा बीएनपीको जितको अर्थ के ?

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का अध्यक्ष तहरिक रहमान । फाइल तस्बिर ।

काठमाडौं । बंगलादेशमा जमात–ए–इस्लामी जसलाई अमेरिकाले प्रत्यक्ष समर्थन दिएको भनिएको थियो, नराम्रोसँग पराजित भएको छ । जमातलाई विद्यार्थी नेताहरूको साथ थियो, मोहम्मद युनुसको संयन्त्रले पनि पूरा सहयोग गरिरहेको थियो । बिहीबार सम्पन्न निर्वाचनमा यो कट्टरपन्थी पार्टीले अहिलेसम्म ५७ सिटमा जित हासिल गरेको छ ।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले १७६ सिटमा जित हासिल गर्नुले देशले कट्टर विचारधारालाई अस्वीकार गरेको संकेत गर्छ । साथै जनताले मुख्यधाराको पार्टीलाई नै देशको भविष्यका रूपमा हेरेको देखाउँछ । यसले शेख हसिनाका लागि बंलादेशमा फर्कने सम्भावित बाटो खुला रहेको र आगामी दिनमा अवामी लीग पुनः मुख्यधारामा फर्किन सक्ने अर्थ पनि लगाइएको छ ।

अगस्ट २०२४ मा शेख हसिनाको सरकार पतन भएपछि जमात–ए–इस्लामीले निकै सक्रियता देखाएको थियो । मोहम्मद युनुसले आतंकवादी घटनामा संलग्न भएको आरोप लागेका जमातका केही ठूला नेताहरूलाई जेलबाट रिहा गरेको उल्लेख छ । अमेरिकी अधिकारीहरूले जमातका नेताहरूसँग खुला भेटघाट गरेको, मुस्लिम समुदायबाट विदेशबाट आर्थिक सहयोग आएको दाबी गरिएको छ । यति हुँदाहुँदै पनि जमात पराजित भएको छ ।

यी हुन् बंगलादेशको निर्वाचनबारे पाँच महत्त्वपूर्ण बुँदा

बीएनपीको जितको के अर्थ ?

अवामी लीगलाई चुनाव लड्न अनुमति नदिइएको अवस्थामा बीएनपीमात्र प्रमुख मुख्यधाराको पार्टी थियो । बीएनपीले ठूलो सफलता हासिल गर्नुले जनताले मुख्यधाराको राजनीतिप्रति विश्वास कायम राखेको र मध्यमार्गी विचारधारालाई समर्थन गरेको देखाउँछ । ३०० संसदीय सिटमध्ये २०० भन्दा बढी सिट बीएनपीले जित्ने अनुमान गरिएको छ ।

महिला मतदाताको निर्णायक भूमिका

बंगलादेशका महिला मतदाताले जमात–ए–इस्लामीविरुद्ध खुलेर मतदान गरेको देखिएको छ । मतदान प्रवृत्तिले महिलाहरूले जमातलाई सत्ताबाट टाढा राख्ने मनसायसहित मतदान गरेको संकेत गर्छ । विभिन्न क्षेत्रका महिलाहरूले बीएनपीलाई राम्रो विकल्पका रूपमा रोजेको विश्लेषण गरिएको छ ।

पश्चिमी देशलाई झट्का

निर्वाचनमा पश्चिमी देशका सरकार र अन्तर्राष्ट्रिय एनजीओ समूहहरू सक्रिय रहेको उल्लेख छ । तर ती प्रयासका बाबजुद मोहम्मद युनुसको प्रभाव घटेको देखिएको छ । ‘जुलाई चार्टर रेफरेन्डम’ ले कति समर्थन पायो भन्ने स्पष्ट नभए पनि यूएस–यूके गठबन्धनको समर्थनले अपेक्षित असर नपारेको दाबी गरिएको छ ।

तारिक रहमानसँग भारतको संवाद 

बंगलादेशको राजनीतिमा भारतलाई सुरुमा केही झट्का लागेको भए पनि तारिक रहमानसँग प्रारम्भिक संवाद भएको बताइएको छ । उनकी आमा बेगम खालिदा जियाको निधनपछि भारतीय विदेशमन्त्री एस। जयशंकर ढाका पुगेका थिए र प्रधानमन्त्री मोदीले पनि प्रतिक्रिया जनाएका थिए । यसले दिल्ली र ढाकाबीच आगामी सरकारसँग स्थिर सम्बन्ध बन्ने सम्भावना देखाउँछ । बीएनपीले शेख हसिनाको दिल्ली बसाइबारे नरम संकेत देखाएको पनि उल्लेख छ ।

जमातका लागि ‘गर या मर’ स्थिति 

अवामी लीग चुनावबाहिर हुँदा प्रतिस्पर्धा सिधै जमात र बीएनपीबीच भएको थियो । जमातले आफूलाई सुधारिएको पार्टीका रूपमा प्रस्तुत गर्ने प्रयास गरे पनि ठूलो मतदाता वर्गलाई आकर्षित गर्न सकेन । यद्यपि प्रत्यक्ष प्रतिस्पर्धाका कारण केही सिट बढेको देखिएको छ ।

विद्यार्थी नेताहरूको पार्टी कमजोर 

निर्वाचनको रोचक पक्ष विद्यार्थी नेताहरूको प्रदर्शन रह्यो । शेख हसिनाविरुद्ध आन्दोलन गरेका विद्यार्थी नेताहरूले नेशनल सिटिजन पार्टी (एनसीपी) गठन गरेका थिए, जसलाई मोहम्मद युनुसको समर्थन रहेको भनिएको थियो । जमातसँग गठबन्धन गरे पनि एनसीपी नराम्रोसँग पराजित भएको र अधिकांश विद्यार्थी नेताहरू चुनाव हारेको उल्लेख छ । (नवभारत टाइम्सबाट अनुदित तथा सम्पादित) 

Share News