चन्द्रागिरीमा भजनको महाउत्सव, पोखराको चर्चित युवा समूहको विशेष प्रस्तुति रहने

काठमाडौं । महाशिवरात्रिको पावन अवसरमा चन्द्रागिरीमा भजन उत्सव आयोजना हुने भएको छ । चन्द्रागिरीस्थित भालेश्वर महादेव मन्दिर प्राङ्गणमा आइतवार दिनभरि ‘महाशिवरात्रि विशेष भजन उत्सव’ हुने आयोजकले जनाएको छ ।

उत्सवमा भजन संस्कृतिलाई नयाँ उचाइ दिइरहेको पोखराको चर्चित युवा भजन समूहको विशेष प्रस्तुति रहने जनाइएको छ । दिउँसो २ बजेदेखि ५ बजेसम्म उत्तम बराल र जुपिटर पौडेलसहितको टोलीले भक्तिमय भजन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा सहभागी भक्तजनले भजन गायन तथा श्रवणमार्फत आध्यात्मिक आनन्द लिन सक्नेछन् ।

साँझ शिव धुनीसँगै महाआरती ग्रहण गर्ने विशेष अवसर पनि रहनेछ । महाआरतीमा सहभागी हुन आउने भक्तजनका लागि चन्द्रागिरी केबलकार ले साँझ साढे ४ बजेपछि ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । साथै भक्तजनको सुविधालाई ध्यानमा राख्दै केबलकार सेवा साँझ ८ बजेसम्म सञ्चालनमा रहनेछ ।

चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेवको धार्मिक–सांस्कृतिक महिमालाई अझ सुदृढ बनाउने उद्देश्यसहित आयोजना गरिएको यस उत्सवले श्रद्धालु भक्तजन र भजन संगीतप्रेमीका लागि महाशिवरात्रिलाई अझ विशेष बनाउने विश्वास आयोजकको छ ।

भजन, दर्शन र आध्यात्मिक ऊर्जाको संगममा सहभागी भई यस वर्षको महाशिवरात्रि मनाउन चन्द्रागिरि हिल्सले सबैमा आग्रहसमेत गरेको छ ।

Share News