कांग्रेसले फागुन ३ गते सार्वजनिक गर्दै चुनावी प्रतीज्ञापत्र, सुशासन र अवसर प्राथमिकतामा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतीज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने तयारी गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेले यस पटकको प्रतीज्ञापत्रमा सुशासनको मुद्दालाई केन्द्रमा राख्दै अवसरको समानताको सुनिश्चिततालाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

उनले भने, ‘हामीले यसपटक अनावश्यक सपना बाँड्ने होइन, यथार्थमै आधारित प्रतिज्ञापत्र ल्याउने लक्ष्य राखेका छौं । वर्तमान राजनीतिक तथा सामाजिक परिस्थितिलाई ध्यानमा राख्दै हामीले यथार्थपरक योजनाहरू प्रस्तुत गर्नेछौं ।’ 

प्रवक्ता चालिसेले जनताको विश्वास जित्न कार्यनीतिमा आधारित प्रतिज्ञापत्र तयार पारेको दावीसमेत गरे ।

उनका अनुसार पार्टीले सुशासननको मुद्दालाई मुख्य प्राथमिकतामा राखेको छ । 

‘सुशासनको अर्थ केवल प्रशासनिक सुधार मात्र होइन, जनताको जीवनमा प्रत्यक्ष असर पार्ने नीति र कार्यक्रमको कार्यान्वयन पनि हो । हामीले भ्रष्टाचार निवारण, न्यायिक स्वतन्त्रता, पारदर्शिता र प्रशासनिक दक्षता सुनिश्चित गर्ने योजनाहरू प्रतिज्ञापत्रमा समेटेका छौं,’ उनले भने ।

त्यसैगरी, अवसरको समानताको वितरणले पनि यस पटकको प्रतीज्ञापत्रमा विशेष स्थान पाउने छ । प्रवक्ता चालिसेले भने, ‘हामीले समाजका सबै वर्ग र क्षेत्रका नागरिकलाई समान अवसर प्रदान गर्ने नीति अपनाउनेछौं । शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक अवसरमा असमानता घटाउने उपायहरू हाम्रो प्रतीज्ञापत्रमा समेटिएका छन्।’

उनले कांग्रेसले यथार्थभन्दा पर नजाने प्रतिज्ञापत्र ल्याउने लक्ष्य राखेको बताए । ‘अनावश्यक सपना बाँढ्ने विचार अहिलेको परिस्थितिसँग मेल खाँदैन । हामीले जनताको अपेक्षा र वास्तविक आवश्यकतालाई प्राथमिकता दिँदै योजना तयार पारेका छौं । यसै कारण हाम्रो प्रतीज्ञापत्रले जनतालाई यथार्थमा आधारित समाधान प्रस्तुत गर्नेछ,’ चालिसेले भने ।

कांग्रेसले चुनावी रणनीतिमा यस पटक स्थानीय स्तरदेखि संघीय तहसम्मका मुद्दा समेट्ने रणनीति अपनाएको छ । चालिसेका अनुसार प्रतीज्ञापत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, किसान र कृषि विकास, पूर्वाधार, ऊर्जा, महिला सशक्तिकरण र युवा उद्यमशीलताजस्ता महत्त्वपूर्ण क्षेत्रका योजना समावेश गरिनेछ ।

विशेषज्ञहरूले कांग्रेसको यस कदमलाई यथार्थपरक प्रतिज्ञापत्रतर्फको सकारात्मक संकेतका रूपमा हेरिरहेका छन् । राजनीतिक विश्लेषक पर्शुराम घिमिरेका अनुसार संसदीय निर्वाचनमा जनताले सपनाभन्दा ठोस योजना हेर्छन् । कांग्रेसले यस पटक यथार्थमा आधारित प्रतिज्ञापत्र ल्याउँदा मतदातामा सकारात्मक प्रभाव पर्न सक्छ ।

प्रवक्ता चालिसेले आगामी चुनावमा कांग्रेसले जनताको विश्वास जित्ने उद्देश्यले प्रचार अभियान पनि व्यावहारिक र सुसंगठित हुने जानकारी दिएका छन् । ‘हामीले चुनावी प्रचार अभियानमा जनताको आवश्यकता, समस्या र अपेक्षालाई ध्यानमा राख्नेछौं । केवल भव्य भाषण वा सपनामा आधारित प्रचार होइन, वास्तविकता आधारित अभियानमा जोड दिनेछौं,’ उनले भने ।

उनका अनुसार फागुन ३ मा सार्वजनिक हुने प्रतीज्ञापत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा लागू गर्न सकिने विशेष कार्यक्रम र परियोजनाको विवरण पनि समावेश हुनेछ । यसले स्थानीय मतदातामा प्रत्यक्ष असर पार्ने र पार्टीको विश्वसनीयता बढाउने अपेक्षा गरिएको चालिसेले बताए ।

Share News