स्वस्तिक आयलको आम्दानीमा १३० प्रतिशतले उछाल, निर्यात मात्रै ६.९० अर्ब

काठमाडौं । स्वस्तिक आयल इन्डस्ट्रिजले एक वर्षमै साढे १४ अर्ब रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा १४ अर्ब ३६ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो, जुन अघिल्लो वर्षको तुलनामा १३०.३८ प्रतिशत अर्थात् ८ अर्ब १२ करोड ८० लाख रुपैयाँले बढी हो । कम्पनीले सन् २०२४ मा ६ अर्ब २३ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

कम्पनीले मुख्य रूपमा सनफ्लावर तेल, सोयाबिन तेल, तोरीको तेल, पाम आयल तथा वनस्पति घ्यू बिक्रीमार्फत आम्दानी गर्दै आएको छ । सन् २०२५ मा सञ्चालन आम्दानी उल्लेखनीय रूपमा बढ्नुको प्रमुख कारण भारतले खाद्य तेलमा आयात महसुल बढाएपछि नेपालको प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुनु र भारततर्फ निर्यात बढ्नु रहेको कम्पनीले जनाएको छ ।

कम्पनीको निर्यात बिक्री सन् २०२५ मा ६ अर्ब ९२ करोड ५० लाख रुपैयाँ पुगेको छ, जुन सन् २०२४ मा ३५ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा ६२ करोड ७० लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामै कम्पनीले ६ अर्ब १५ करोड १० लाख रुपैयाँ आम्दानी बुक गरिसकेको छ, जसले कुल निर्यात बिक्रीको करिब ४७ प्रतिशत हिस्सा ओगटेको कम्पनीको दाबी छ ।

उत्पादन क्षमताको उपयोग सन् २०२५ मा ३६ प्रतिशत पुगेको छ, जुन सन् २०२४ मा १८ प्रतिशत मात्र थियो। यसले कम्पनीको सञ्चालन दक्षतामा उल्लेखनीय सुधार आएको संकेत गर्दछ ।

स्वस्तिक आयल इन्डस्ट्रिज सन् १९८४ डिसेम्बरमा स्थापना भएको हो । यसको उत्पादन प्लान्ट विराटनगर–९ मोरङमा सञ्चालनमा छ । कम्पनीको कुल स्थापित उत्पादन क्षमता वार्षिक १ लाख ३५ हजार मेट्रिक टन रहेको छ । यसका अतिरिक्त तोरीको तेल उत्पादनका लागि वार्षिक १० हजार मेट्रिक टन क्षमता समेत रहेको छ । 

स्वस्तिक आयल इन्डस्ट्रिज केएल दुगड ग्रुपद्वारा प्रवर्द्धित उद्योग हो । समूहले खाद्यान्न, प्याकेजिङ, जडीबुटी प्रशोधन, जलविद्युत्, सिमेन्ट, निर्माण तथा बैंकिङ तथा वित्तीय सेवा जस्ता विभिन्न क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि व्यवसाय गर्दै आएको छ । समूहको औद्योगिक अनुभव र व्यवस्थापन क्षमताले स्वस्तिक आयललाई खाद्यतेल उद्योगको एक महत्त्वपूर्ण उत्पादकका रूपमा स्थापित गरेको छ ।

कम्पनीका अध्यक्ष विकास दुगडसँग व्यापार तथा उद्योग क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव रहेको छ । उनी केएल दुगड ग्रुपका प्रबन्ध निर्देशकसमेत हुन् र अन्य विभिन्न कम्पनीहरूमा निर्देशकको भूमिकामा संलग्न छन् । 

केएल दुगड समूहले आफ्ना सहायक कम्पनीहरूमार्फत १८० भन्दा बढी उत्पादनहरू बजारमा आपूर्ति गर्दै आएको छ । यसमा चामल, दाल, अन्न, शिशु आहार, मसला, चिया, पीठो, खाद्यतेल तथा अन्य खाद्यान्न सामग्रीहरू समावेश छन्। समूहका बिक्री डिपोहरू देशका विभिन्न भौगोलिक क्षेत्रमा सञ्चालनमा छन् ।

स्वस्तिक आयल इन्डस्ट्रिजले आफ्ना खाद्यतेल उत्पादनहरू स्वस्तिक, धारा, सनफ्लो, संगम र बिगुल ब्रान्डमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ । 

खाद्यतेलको बढ्दो आन्तरिक मागलाई सम्बोधन गर्दै स्वस्तिक आयल इन्डस्ट्रिजले स्वदेशी उत्पादन प्रवर्द्धन तथा आयात प्रतिस्थापनमा योगदान पुर्याउँदै आएको छ । कम्पनीले सन् २०२३ मा ७ अर्ब २ करोड ३० लाख, सन् २०२२ मा १२ अर्ब ५१ करोड २० लाख, सन् २०२१ मा ११ अर्ब १० करोड र सन् २०२० मा ८ अर्ब २ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

कम्पनी कच्चा खाद्य तेल तथा तोरीजस्ता कच्चा पदार्थका लागि अन्तर्राष्ट्रिय बजारमा निर्भर रहनुका साथै खाद्यतेल कच्चा पदार्थहरू कृषिजन्य तथा मौसमी उत्पादन भएकाले मूल्यमा उच्च उतारचढाव हुने जोखिम कायमै रहेको कम्पनीले जनाएको छ । साथै संगठित र असंगठित धेरै कम्पनीहरूको उपस्थितिका कारण उद्योग अत्यन्त प्रतिस्पर्धी रहेको बताइएको छ ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब ६ करोड रुपैयाँ ऋण लिएको छ । जसमा १ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ दीर्घकालीन र ८ अर्ब ६० करोड ६ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ ।

Share News