तम्घास–बुर्तीबाङ १३२ केभी लाइन सञ्चालनमा, गुल्मी–बागलुङमा विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तम्घासदेखि बुर्तीबाङसम्म निर्माण सम्पन्न १३२ केभी डबल सर्किट प्रसारण लाइन आइतबार (आज)देखि परीक्षणसहित सञ्चालनमा ल्याएको छ । 

आयोजनाअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका–७, उनाएचौरस्थित तम्घास सवस्टेशनदेखि बागलुङको ढोरपाटन नगरपालिका–२, खल्टुबोटस्थित बुर्तीबाङ सवस्टेशनसम्म १३२ हजार भोल्ट क्षमताको विद्युत प्रवाह सुरु गरिएको हो ।

बुर्तिबाङ–पौदीअमराई–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत निर्माण गरिएको यो लाइन सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत आपूर्ति थप विश्वसनीय, सुदृढ र स्थिर हुने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ ।

उच्च भोल्टेज प्रसारण लाइन भएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले सर्वसाधारणलाई प्रसारण टावरमा नचढ्न, तार वा संरचनालाई नछुन आग्रह गरेको छ । 

प्राधिकरणले टावर वरिपरि अनावश्यक रूपमा नजान तथा घरेलु जनावरलाई त्यहाँ नछोड्न आग्रह समेत गरेको छ । खतरा संकेत गरिएका संरचनाबाट टाढा रहन र बालबालिकालाई समेत सचेत गराउन अनुरोध गरिएको प्राधिकरणले जनाएको छ ।

Share News