काठमाडौं । केही वर्षअघि काठमाडौंको एक अस्पतालमा कार्यरत चिकित्सक विवेक आचार्य जुम्ला पुगे । स्वास्थ्यसम्बन्धी कामसँगै रारा पुग्ने उद्देश्यले जुम्ला गएका उनले कालिकोट र जुम्लाका विभिन्न गाउँबस्ती घुम्ने अवसर पाए । गाउँमा पुग्दा ८०–९० वर्षका वृद्धवृद्धा बारीमा काम गरिरहेका, भारी बोकेर उकालो–ओरालो गरिरहेका दृश्यले उनलाई आश्चर्यचकित बनायो। सहरमा जन्मे–हुर्केका उनलाई यस्तो सक्रिय वृद्ध जीवनशैली निकै फरक लाग्यो।
स्वास्थ्यकर्मीको दृष्टिले उनले यसलाई अझ गहिरो रूपमा हेरे। कुप्रो परेको शरीर भए पनि वृद्धहरू काममा सक्रिय देखिन्थे। जिज्ञासावश उनले केही वृद्धसँग कुराकानी गरे । एक वृद्धले भने, ‘अहिलेसम्म न टाउको दुखेर अस्पताल गएको छु, न औषधी खाएको छु । हातखुट्टा चलिरहेको छ, काम गरिरहेको छु । जुन दिन चल्न छोड्छ, त्यही दिन रोकिन्छ ।’
यसले उनलाई गाउँको प्राकृतिक जीवनशैलीप्रति झनै प्रभावित बनायो। बिहान–दिउँसो बारीको काम, आफ्नै खेतबारीमा उत्पादन भएको अर्गानिक खाना, तनावमुक्त जीवन । यी सबै स्वस्थ जीवनका आधार भएको उनले महसुस गरे । उनी भन्छन्, ‘खानपान र जीवनशैली त गाउँकै राम्रो । ज्यान पनि स्वस्थ, खान पनि मस्त ।’
तर पछिल्लो समय गाउँको अवस्था पनि तीव्र रूपमा बदलिँदै गएको छ ।
गाउँमा पनि बढ्दै बजारिया खानपान
त्रिवि शिक्षण अस्पतालमा कार्यरत अर्का चिकित्सक खेम भुसाल केही महिनाअघि अछाम र बाजुरा पुगे । उनले सुनेको जस्तो अभावग्रस्त जीवनशैली त्यहाँ भेटेनन् । गाउँमा सडक पुगेको, विद्यालय र स्वास्थ्यचौकी स्थापना भएको देख्दा उनी खुशी भए । तर त्यहाँको खानपानले भने उनलाई चिन्तित बनायो ।
उनले गाउँका बालबालिकादेखि युवासम्मको हातमा चाउचाउ, बिस्कुट र चकलेट देखे । दिउँसोको खाजामा समेत चाउचाउ खान दिने चलन बढेको पाए । घरमा उत्पादन हुने सागसब्जी बेचेर प्याकेटका खानेकुरा किन्ने प्रवृत्ति देख्दा उनी अचम्मित भए ।
उनी भन्छन्, ‘सहरीया मात्र होइन, अब गाउँका मानिस पनि रोगी जीवन बिताउँदै छन् । जहाँ बारीमा फलेको अन्न छोडेर प्याकेटका खानेकुरा प्रयोग हुन्छन्, त्यहाँ स्वास्थ्य जोखिम बढ्दै जान्छ ।’
उनका अनुसार शहरको अस्वस्थ जीवनशैली गाउँसम्म फैलिन थालेको छ, जसले भविष्यमा गम्भीर स्वास्थ्य संकट निम्त्याउने संकेत देखिएको छ । ग्रामीण भेगका मान्छेहरूले गाउँमा उत्पादित वस्तुहरू बिक्री गरेर सहरबाट वस्तुत आयात गरेर उपभोग गर्दै आएका छन् । उनीहरुले गाउँको घ्यू बिक्री गरेर बजारको इनर्जी ड्रिंक पिउन थालेका छन् ।
नसर्ने रोगको जड : अस्वस्थ खानपान र निष्क्रिय जीवनशैली
नेपालमा पछिल्लो समय नसर्ने रोग तीव्र रूपमा बढिरहेका छन् । उच्च रक्तचाप, मधुमेह, मुटुरोग, किड्नी रोग, नसा च्यापिने समस्या जस्ता दीर्घरोग बढ्नुको प्रमुख कारण अस्वस्थ खानपान र निष्क्रिय जीवनशैली रहेको चिकित्सकहरू बताउँछन् ।
वीर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. ध्रुव गैरेका अनुसार धेरै मानिस जानेर वा नजानेर दीर्घरोगको जोखिममा परिरहेका छन् ।
उनी भन्छन्, ‘आजभोलि संसारभरि नै सुगर, प्रेसर, कोलेस्ट्रोल, क्यान्सरजस्ता नसर्ने रोग बढ्दै गएका छन्। यसको मुख्य कारण हाम्रो आहारविहार र जीवनशैली नै हो ।’
उनका अनुसार जंक फुडको बढी सेवन, सागसब्जी र फलफूल कम खानु, व्यायाम नगर्नु, चिल्लो र गुलियो खानेकुरा बढी खानु र शारीरिक गतिविधि कम हुनु नसर्ने रोगका प्रमुख कारण हुन् ।
बालबालिकामा समेत मोटोपनको समस्या बढ्दो छ । चिल्लो, गुलियो र प्याकेटका खानेकुरा यसको मुख्य कारण मानिन्छ ।
चिनीजन्य पेय पदार्थको बढ्दो प्रयोग
नेपालीहरूको परम्परागत खाना दाल, भात, रोटी र तरकारी भए पनि पछिल्लो समय यसको स्थान जंक फुडले लिँदै गएको छ । खाजाको रूपमा दही–चिउरा छोडेर चाउमिन, पिज्जा, बर्गर र इनर्जी ड्रिंकको प्रयोग बढेको छ।
चिकित्सकका अनुसार एउटा इनर्जी ड्रिंकमा करिब १० चम्चा र सफ्ट ड्रिंकमा ८ चम्चासम्म चिनी हुन्छ। यस्ता पेय पदार्थले तत्काल ऊर्जा दिएको जस्तो देखिए पनि दीर्घकालीन रूपमा स्वास्थ्यलाई गम्भीर असर पुर्याउँछन् ।
अध्ययनअनुसार चिनीजन्य खाद्य तथा पेय पदार्थले मधुमेहको जोखिम २७ प्रतिशत, मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम १७ प्रतिशत र उच्च रक्तचापको जोखिम १२ प्रतिशतले बढाउने देखिएको छ ।
सम्पन्नतासँगै बिग्रँदै जीवनशैली
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार आर्थिक अवस्था सुधारिँदै जाँदा जीवनशैली पनि अस्वस्थ बन्ने प्रवृत्ति देखिन्छ ।
उनी भन्छन्, ‘मान्छे सम्पन्न हुँदै जाँदा बढी खान थाल्छ, मीठो र चिल्लो खान थाल्छ। पहिले मकै र भटमास खाने व्यक्ति अब बोसोयुक्त मासु र तयारी खाना खान थाल्छ। यसले स्वास्थ्य बिगार्दै लैजान्छ ।’
उनका अनुसार सम्पन्नतासँगै हिँडडुल घट्ने, व्यायाम कम हुने, रक्सी र सुर्ती सेवन बढ्ने तथा तनाव बढ्ने हुँदा दीर्घरोगको जोखिम बढ्छ । तर जीवनको एक चरणमा पुगेपछि मानिस स्वास्थ्यप्रति सचेत हुँदै जीवनशैली सुधार्ने प्रयास पनि गर्छ ।
नसर्ने रोगबाट बढ्दो मृत्युदर
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष करिब ४ करोड १० लाख मानिस नसर्ने रोगका कारण मृत्यु हुने गरेका छन् । नेपालमा पनि अवस्था चिन्ताजनक छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सन् २०१० मा कुल मृत्युमध्ये ५१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेकोमा अहिले यो संख्या बढेर ७१ प्रतिशत पुगेको छ । सन् २०४० सम्ममा कुल मृत्युमध्ये ७९ प्रतिशत नसर्ने रोगकै कारण हुने प्रक्षेपण गरिएको छ ।
हाल स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये ६० देखि ७० प्रतिशत नसर्ने रोगका बिरामी छन् ।
सुर्ती र मदिरा पनि प्रमुख कारण
नसर्ने रोगको अर्को प्रमुख कारण सुर्तीजन्य पदार्थ र मदिरा सेवन हो । बालबालिकादेखि युवासम्म यस्तो लतमा फस्ने प्रवृत्ति बढ्दै गएको छ ।
अध्ययनअनुसार काठमाडौं उपत्यकामा ५.५ प्रतिशत बालबालिका १५ वर्ष नपुग्दै सुर्ती सेवनमा लागेका छन् । १५ देखि ४९ वर्ष उमेर समूहका ५.१ प्रतिशत महिला र ४१.८ प्रतिशत पुरुष सुर्तीजन्य पदार्थ सेवन गर्छन् ।
चिकित्सकहरूका अनुसार यसले मुटु, कलेजो र फोक्सोसम्बन्धी गम्भीर रोग निम्त्याउने जोखिम बढाउँछ ।